काठमाडाैं । सिसडोलदेखि बन्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले मंगलबार र बुधबार काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ ।
नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहरको कारण बन्चरेडाँडासम्म गाडी आउन जानका लागि समस्या भएकाले मंगलबार र बुधबार फोहर लाने काम रोकिएको हो ।
सिसडोलदेखि दुई किलोमिटर पर बन्चरेडाँडासम्म जान यसअघि थुपारिएको फोहरको डंगुर पार गर्नुपर्ने बाध्यता छ ।
वर्षाको समय सुरु भएसँगै फोहर कुहिन थालेको छ । कुहिएको फोहर माथिबाट आवतजावत गर्दा दुर्घटना हुने खतरा भएकाले कामपा वातावरण विभागले उपत्यकाबाट फोहर लाने काम बन्द नै गरेर उक्त स्थानमा सफा गर्न लागेको जनाएको छ ।
कामपा वातावरण विभाग प्रमुख सरिता राईका अनुसार केही दिनदेखि नियमित परेको वर्षाका कारण समस्या आएको छ । निरन्तर परेको पानीले काठमाडौंदेखि अन्तिम फोहर व्यवस्थापनस्थल बन्चरेडाँडासम्म पुग्ने सडकमा समस्या आउँदा नियमित रूपमा सबै फोहरका गाडी जान सकेका छैनन् ।
सामान्य अवस्थामा प्रतिदिन ३०० सम्म फोहरका गाडी बन्चरेडाँडा पुग्ने गरेका थिए । वर्षाका कारण बाटो अवरोध हुँदा अहिले मुस्किलले १०० गाडीले मात्र फोहर व्यवस्थापन गर्छन् ।
हरेक वर्ष वर्षातकाे समयमा नियमित पानी पर्न थालेपछि काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापन कार्य समस्या बन्दै आएको छ ।
गत फागुनदेखि जेठ सम्ममा सिसडोल बन्चरेडाँडाका स्थानीय र जनप्रतिनिधिले विभिन्न माग राख्दै अवरोध गरी काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहर ४६ दिनसम्म व्यवस्थापन हुन नसक्दा उपत्यकामा दुर्गन्ध नै फैलिएको थियो ।
सिसडोल बन्चरेडाँडा स्थानीयवासीको समस्यालाई समाधान गर्न केही दिनअघि स्थानीय र जनप्रतिनिधिसँग कामपाले १८ बुँदे सहमति गरी फोहर व्यवस्थापनको काम नियमित गर्ने वातावरण बनेपनि बाटोको कारण सहज भने भएको छैन ।
यसैबीच कामपाले आगामी साउन १ गतेदेखि स्रोतबाटै फोहरको वर्गीकरण नगरे जरिवाना लाग्ने भन्दै सूचना जारी गरिसकेको छ । विभागका अनुसार फोहर संकलनका क्रममा पृथकीकरण नगरेको पाइए हरेकपटक ५ सय जरिवाना गरिनेछ ।