हेप्पी बर्ड–डे एलन मस्क !
टेस्ला र स्पेस–एक्सका सीईओ एलन मस्क आज मंगलबारबाट ५१ वर्ष पूरा गरी ५२ वर्षमा लागेका छन् ।
बाल्यकालमा भिडियो गेम बनाएका उनी आज विश्वकै सर्वाधिक धनाढ्य व्यक्ति बन्नेसम्मको उनको यात्रा रोचक छ ।
कुनै बेला यस्तो पनि थियो, मस्कलाई एउटा इन्टरनेट कम्पनीले जागिर दिन अस्वीकार गरेको थियो । तर, आज उनैले संसारलाई स्याटेलाइट इन्टरनेट उपलब्ध गराएका छन् ।
उनको आगामी योजना भनेको मंगल ग्रहमा मानिसको बस्ती बसाउने छ ।
दक्षिण अफ्रिकामा जन्म
मस्क भलै अमेरिकाबाट आफने कारोबार सञ्चालन गर्छन् । तर, उनको जन्म २८ जुन १९७१ मा दक्षिण अफ्रिकाको प्रेटोरियामा भएको थियो । उनको पूरा नाम एलन रिभ मस्क हो ।
मस्ककी आमा क्यानेडियन थिइन् भने पिता दक्षिण अफ्रिकी ।
पिता एरोल मस्क इलेक्ट्रिकल इन्जिनियर एवं पाइलट थिए । यस्तै आमा मय मस्क एक डाइटिसियन थिइन् ।
मस्क सानैदेखि अब्बल थिए । उनलाई कम्प्युटर मन पर्थ्याे । १० वर्षकै उमेरमा कम्प्युटर प्रोगामिङ सिकेका थिए । त्यसपछि १२ वर्षको हुँदा ‘ब्लास्टर’ नामक भिडियो गेम बनाएर कमाउन सुरु गरेको थिए ।
आज यी कम्पनीमाथि राज
मस्क आफूले बनाएको भिडियो गेम एक अमेरिकन कम्पनीलाई ५ सय डलरमा बेचिदिएका थिए । त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेन ।
२७ वर्षको हुँदा ‘एक्स डट कम' नामको कम्पनी बनाए । तर, सफलता भने सन् १९९५ मा जिप–२ नामको टेक कम्पनीपछि । २००४ मा इलेक्ट्रिक कार कम्पनी टेस्लाको स्थापना गरे ।
हाल टेस्ला विश्वकै ठूलो ईभी कम्पनी हो । यसबाहेक मस्क स्पेस–एक्सका पनि सीईओ हुन् । केही समयअघि मात्रै उनले ४४ अर्ब डलरमा ट्विटर खरिदको डिल गरेका थिए । यो डिल टेक जगत्कै तेस्रो ठूलो डिल मानिएको छ ।
सम्पत्ति कति ?
फोर्ब्सका अनुसार मस्क २३४ अर्ब डलर नेटवर्थसहित विश्वकै सर्वाधिक धनी व्यक्ति हुन् । उनले यसअघिका सर्वाधिक धनाढ्य अमेजनका जेफ बेजोसफको ताज सन् २०१७ मा खोसेका थिए । त्यसपछि उनी प्रत्येक वर्ष विश्वका १० सर्वाधिक धनीमध्ये पहिलो स्थानमा दबदबा बनाइरहेका छन् ।
धनाढ्य मात्रै होइनन् मस्क, संसारकै सर्वाधिक तलब बुझ्ने सीईओसमेत हुन् । फर्च्युन–५०० का अनुसार सन् २०२१ मा उनले तलबबापत मात्रै २३.५ अर्ब डलर लिए ।
पीएचडी छोडेर कारोबारी
आमाबाबाको सम्बन्धविच्छेपछि मस्क बासँग बस्न थाले । उनको प्रारम्भिक शिक्षा दक्षिण अफ्रिकामा भयाे । त्यसपछि उच्च शिक्षाका लागि सन् १९८८ मा क्यानेडियन पासपोर्ट पाए र अफ्रिका छोडे ।
फिलाडेल्फियाको पेन्सिल्भेनिया विश्वविद्यालयबाट मस्कले फिजिक्स र अर्थशास्त्रमा ग्र्याजुएट डिग्री हासिल गरे र क्यालिफोर्नियाको बाटो समाते ।
क्यालिफोर्नियाको स्ट्यानफोर्ड विश्वविद्यालयमा पीएचडीका लागि भर्ना भए । तर, पूरा गर्न पाएनन् ।