विश्वभरमा महँगी अकासिँदो छ । यो महँगी भारतीय अर्थव्यवस्थाको पनि टाउको दुखाइ बनेको छ ।
लगातार बढ्दो महँगीबीच चामलको मूल्य पनि बढिरहेको छ । भारतीय घरेलु बजारका साथसाथै विश्व बजारमा पछिल्लो ५ दिनमा मात्रै १० प्रतिशत मूल्यवृद्धि भइसकेको छ ।
यस्तो स्थितिमा बंगलादेशले आवश्यक वस्तुको आयातमा इम्पोर्ट ड्युटी र टेरिफलाई ६२.५ प्रतिशतबाट घटाएर २५ प्रतिशत कम गरेको छ । यसमा चामल पनि सामेल छ ।
यही कारणले गर्दा घरेलु बजारमा चामलको मूल्य तीव्र रुपमा बढेको हो । लगातार बढ्दो मूल्यकै कारण भारतले चामल निर्यातमा रोक लगाउन सक्ने देखिएको छ ।
वित्त मन्त्रालयका अनुसार चामल निर्यातमा प्रतिबन्ध लगाउनेबारे छलफल भइरहेको छ । यद्यपि फैसला भने केही दिनमा हुने भारतीय सञ्चारमाध्यमले बताएका छन् ।
भारतबाट चामल आयात गर्ने देशहरुमा यसको प्रत्यक्ष प्रभाव पर्नेछ । जसमा, नेपाल, फिलिपिन्स, क्यामरुन र चीनजस्ता देश पर्नेछन् ।
गहुँ निर्यातमा यसअघि नै रोक
बढ्दो महँगी नियन्त्रण गर्न भारतलाई मात्रै होइन, अन्य देशहरुलाई पनि हम्मेहम्मे परेको अवस्था छ । महँगी नियन्त्रण गर्न भारत सरकारले सन् २००८ मा नै गैरबासमती चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो । तर, पछि २०१० मा हटाएको थियो ।
रुस–युक्रेनबीच जारी युद्धका कारण सप्लाई चेनहरु प्रभावित बनेका छन् । यसले गर्दा महँगी पनि बढिरहेक छ । यही महँगी नियन्त्रण गर्न भारतले गत मे महिनामा गहुँ निर्यातमा प्रतिबन्ध लगाइसकेको छ भने चिनी निर्यातमा पनि अंकुश लगाइसकेको छ ।
साथै यसअघि चामल निर्यातमा पनि प्रधानमन्त्रीकाे कार्यालयले निगरानी गरेकाे थियाे ।