पोखरा । ‘सबै मौसमका लागि पोखरा ’ भन्ने मूल नाराका साथ पोखरा पर्यटन परिषदको आयोजनामा असार १५ गते हेम्जामा रोपाइँ महोत्सवको हुने भएको छ । पोखरा २५ हेम्जास्थित माइस्थानको करिब १० रोपनी क्षेत्रफलमा महोत्सव गर्न लागिएको परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
अध्यक्ष भट्टराईले कृषि प्रधान देश भनेर चिनिने नेपालका, कृषि, पर्यटन र उर्जा मुलुकका विशेष प्राथमिकता भित्र पर्ने क्षेत्र मानिए पनि आर्थिक विकासमा यी क्षेत्रले गति लिन नसकेको जनाउँदै यसको उजागर गरेर पर्यटन प्रवर्द्धनका लागि महोत्सवको आयोजना गरिएको जानकारी दिए । उनले भने, “सन् १९६० मा खाद्यान्न निर्यातमा चर्चा कमाएका कृषि प्रधान मुलुक नेपाल खाद्यान्न आयात गर्ने स्थितिमा पुगेको छ ।
भू–उपयोगसम्बन्धी उपयुक्त निति र योजना समयमा नै नआएको कारण कृषियोग्य भूमि विभिन्न नाममा अस्तव्यस्त पारिएको छ, यो विषयमा अब सोच्नुपर्छ” उनले पोखरा र यस वरपरका क्षेत्रमा भएका बिरुवा फाँट, कुँडहर फाँट, हेम्जा फाँट, सेदी बगर, पामे, बाच्छेबढुवा, कमलपोखरी, अर्मला फाँट लेखनाथका विभिन्न फाँटहरु जस्ता धान खेतीयोग्य जमिनहरु दिनानुदिन घडेरीका रुपमा प्रयोग हुने कार्य तीव्र गतिमा भैरहेकाले पोखराको प्राकृतिक सौन्दर्यलाई कायम राख्न आवश्यकता रहेको औंल्याए ।
खेतीयोग्य जमिनको संरक्षण, कृषिलाई व्यवसायीकरण गर्दै कृषकलाई आफ्नो पेसाप्रति अभिप्रेरित गर्नु तथा परम्परागत हाम्रो कृषि प्रणालीमार्फत पोखराको पर्यटन प्रवर्द्धन गर्ने मूल उद्देश्यका साथ विगत २०६१ सालदेखि पोखरा पर्यटन परिषदले निरन्तर रूपमा पोखरामा असारे रोपाइँ महोत्सवको आयोजना गर्दै आएको परिषदका उपाध्यक्ष एवम महोत्सव संयोजक पोमनारायण श्रेष्ठले जानकारी दिए ।
उनले पोखरा–२५, माइस्थान प्रांगण हेम्जामा स्थानीयको करिब १० रोपनी क्षेत्रफल खेतमा आयोजना गरिएको र सो अवसरमा हलगोरु दौड, असारे गीत तथा रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने प्रतियोगिता, हिलोमा महिला पुरुष दौड प्रतियोगिता, विदेशी पर्यटक दौड प्रतियोगिता र रस्साकसी प्रतियोगिता गरिएको जानकारी दिए ।
संयोजक श्रेष्ठका अनुसार महोत्सव व्यवस्थापनका लागि खर्चतर्फ २४ लाख ५० हजार रूपैयाँको बजेट अनुमानित गरिएको छ भने सो खर्चको व्यवस्थापनका लागि नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, पर्यटन मन्त्रालयलगायत विभिन्न संघ-संस्था एवं व्यवसायिक प्रतिष्ठानहरुसँग समन्वय गरिएको छ ।
पत्रकार सम्मेलनमा महोत्सव स्थलका स्थानीय संयोजक हरिशरण पौडेलले कृषिका लागि उर्वर मानिने हेम्जालाई महोत्सव हुनु सकारात्मक रुपमा लिएको जनाउँदै स्थानीयको साथ रहन बताए ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले असारे रोपाइँ पनि देशको संस्कृति झल्काउने लोक संस्कृतिसँगै कृषिको महत्वलाई उजागार गर्ने भएकाले पर्यटन प्रवर्द्धनमा भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले नेपाल पर्यटन बोर्डले पर्यटन प्रवर्द्धनका लागि विभिन्न पर्यटकीय गतिविधि जोड दिँदै आएको बताए ।
कार्यक्रममा परिषदका महासचिव रामचन्द्र शर्माले महोत्सवमा हुने विविध कार्यक्रमका बारेमा जानकारी गराएका थिए । उनका अनुसार संस्थाका उपाध्यक्ष पोमनारायण श्रेष्ठको संयोजनमा २४ सदस्यीय मूल आयोजक समिति तथा विभिन्न उपसमितिहरु साथै स्थानीय संयोजक हरिशरण पौडेलको संयोजत्वमा विभन्न उपसमितिहरु गठन गरिएको छ । साथै महोत्सव सचिवालय पोखरा पर्यटन परिषदको सचिवालय नारेश्वरबोट लेकसाइडमा रहेको जानकारी दिए ।