काठमाडौ । शुक्रबार पछिल्लो चरणको न्यून बिन्दू १८०६ लाई छाडेर माथि उक्लिएको सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मौद्रिक नीति अघि नै २२०० अंकसम्म माथि चढाउन एकथरी लगानीकर्ता क्रियाशील देखिएका छन् । निरन्तर घाटामा रहेका र बैंकको मार्जिन कलले दुःख दिएको अवस्थामा त्यसबाट पार पाउन पनि असार मसान्तसम्म बजार सूचकलाई माथि उठाउन लगानीकर्ता लागिपरेका हुन् ।
शुक्रबार १८०६ बाट उठेको बजार १८६२ मा रोकिएको थियो । आइतबार नेप्से वृद्धिले छलाङ हान्दै १९५७ मा पुग्यो । तर, सोमबार तीब्र उतारचढाब देखिन्छ । १९८७ सम्म पुगेको बजार सूचक अन्तिम समयमा भने आइतबारको तुलनामा २३.८५ अंकले घटेर १९३३.१३ अंकमा रोकिएको छ ।
यसदिन २४ कम्पनीहरुको मूल्य वृद्धि हुँदा तीन कम्पनीको ९ प्रतिशतभन्दा बढीले बढेको छ । उता १६८ कम्पनीको सेयर मूल्य घट्दा उन्नती सहकार्य लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
लामो समयपछि सेयर बजारमा कारोबारको चमक देखिएको छ । पछिल्लो सेयर कारोबारको ३२ दिनपछि २ अर्ब रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । सोमबार ५६ लाख ४१ हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४ करोड रुपैयाँबराबरको कारोबार भएको छ । यसअघि वैशाख २९ मा २ अर्ब २७ करोडबराबरको कारोबार भएको थियो ।
त्यसयता कारोबार घटेर ७१ करोडसम्म सीमित भएको थियो । ३१.५ प्रतिशत लाभांश घोषणा गरेको नागरिक लगानी कोषको सोमबार सबैभन्दा धेरै सेयर किनबेच भएको छ । कोषको १५ करोड ६५ लाख ८८ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको हो ।
आर्थिक वर्ष सकिन २ साता बाँकी रहँदा केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको अनुगमनलाई तीव्रता बनाएको छ । कतिपय कर्जाहरुमा थप प्रोभिजनको व्यवस्था गरेको छ । सरकारी खर्चमा सुधारकाे संकेत देखिएको छैन । एकथरी लगानीकर्ताहरुले गरेकाे आमरण अनशनका कार्यक्रम सकिएको र त्यसले बजारमा सकारात्मक प्रभाव पार्ने आंकलन गरिए पनि सोमबार त्यसले निरन्तरता पाएन ।
एउटा वित्तीय संस्थाबाट २ करोड र समग्र प्रणालीबाट १२ करोड सेयर धितो कर्जा र कर्जा निक्षेप अनुपात कर्जा पुँजी निक्षेप अनुपातमा फर्कनुपर्ने चौतर्फी दबाब मौद्रिक नीतिमा दिइरहेको स्थिति, सरकारी तबरबाट बजार अनुकूल मौद्रिक नीति ल्याउन दिइएका अनेकन दबाबजस्ता आधारलाई देखाएर बजार सूचकलाई एकपटक माथि उठाउने विभिन्न कोणबाट प्रयास भइरहेको छ ।
तर, आर्थिक प्रवृत्तिले ती परिवेशहरुलाई सहयोग गर्छ गर्दैन भन्ने दोधारमा लगानीकर्ता रहँदा अन्याेलको स्थिति पनि छ । खासगरी, लाभांश लिने समय नजिकिँदै गएको र बजार धेरै तल खसेको अवस्थालाई असार महिनाका बाँकी अवधिलाई भरपूर प्रयोग गर्ने प्रयासतर्फ लगानीकर्ताहरुको मनोबल देखिन्छ ।