काठमाडाैं । देशको परिचय कृषि प्रधान । खेतीपाती गर्ने जमिन बाँझो । खेती गर्ने युवा जति खाडीमा । तिनै युवाले पठाएको विप्रेषणको पैसा खर्च गरेर विदेशबाट खाद्यान्नको आयात गर्नु परिरहेको डरलाग्दो तथ्यांक सार्वजनिक भएको छ ।
भन्सार विभागले हालै सार्वजनिक गरेको चालू आवकाे ११ महिनामा १६ अर्ब रुपैयाँभन्दा बढीको कृषि तथा फलफूल आयात भएको देखिएको छ ।
मुलुकका दुई तिहाइभन्दा बढी जनता कृषिमा आश्रित रहेका र कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा कृषि क्षेत्रको योगदान एक तिहाइभन्दा बढी रहेको अवस्थामा समेत फलफूको आयातमा अर्बाैं रकम बाहिरिरहेको छ ।
चालू आवको पहिलो ११ महिनामा फलफूलको आयातका कारण १६ अर्ब २१ करोड रुपैयाँभन्दा धेरै रकम विदेशिएको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । मुलुकको आर्थिक क्षेत्रमा कृषिको योगदान उल्लेख्य रहे पनि अझै कुल कृषियोग्य जमिनमध्ये धेरै बाँझो छ । यस्ता कृषियोग्य भूभागको थोरै मात्राको सही र व्यवस्थित उपयोग गर्नसके कृषिजन्य उपभोग्य वस्तुमा आत्मनिर्भर हुने अवस्था ल्याउन सकिन्छ ।
यस्ता उपभोग्य वस्तु आयात गरी अर्बाैं रकम बिदेसिनबाट जोगिन सक्ने देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेकाे चालू आवको जेठ मसान्तसम्मको विवरणानुसार मुलुकले फलफूलका साथै दैनिक उपभोग्य वस्तुको आयातबाट अर्बौं रकम बाहिर पठाएको देखिन्छ भने नेपालमै उत्पादन गर्न सकिने कृषिउपजसमेत अत्यधिक आयात भइरहेको देखिन्छ ।
चालू आवको समीक्षा अवधिमा मुलुकमा १६ अर्ब २१ करोडभन्दा बढी रकम ताजा तथा सुकेका फलफूल आयातमा बाहिरिएको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
६ अर्ब ६५ करोडको स्याउ आयात
विभागका अनुसार चालू आवको जेठ मसान्तसम्म ६ अर्ब ६५ करोड ११ लाख ९९ हजार रुपैयाँबराबरको ८ करोड १५ लाख ३८ हजार ४२६ किलो स्याउ आयात भएको छ । त्यसबाट सरकारले ६३ करोड ५८ लाख ७८ हजारबराबरको राजस्वसमेत संकलन गरेको छ । चीनबाट सबैभन्दा धेरै स्याउ भित्रिएको तथ्यांकमा उल्लेख छ ।
चीनबाट मात्र ५ अर्ब ४८ करोड ८० लाख १७ हजारबराबरको स्याउ आयात भएको छ । त्यस्तै भारतबाट १ अर्ब १५ करोड ५९ लाख ८३ हजार, अमेरिकाबाट ४४ लाख १३ हजार, टर्कीबाट २६ लाख २५ हजार र गिनी बिसाउबाट १ लाख ६१ हजार रुपैयाँबराबरको स्याउ आयात भएको विवरणमा उल्लेख छ ।
२ अर्ब बढीको अंगुर आयात चालू आवको जेठ मसान्तसम्म २ अर्ब १९ करोड ५३ लाख ३५ हजारको ३ करोड २१ लाख ३१ हजार ७९२ किलो अंगुर आयात भएको देखिन्छ । त्यसबाट सरकारले ११ करोड ११ लाख ७४ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाइएको छ ।
१ अर्ब ५७ करोडको केरा आयात
नेपालीले ११ महिनाको अवधिमा १ अर्ब ५७ करोड ४७ लाख ५३ हजार रुपैयाँबराबरको केरा आयात गरेको छ । चालू आवको जेठ मसान्तसम्म कुल ६ करोड २१ लाख ६३ हजार ९८८ किलो केरा आयात भएको छ । त्यसबाट सरकारले १९ करोड १२ लाख ३ हजार राजस्व संकलन गरेको छ ।
यस्तै सुन्तलाको आयात पनि उस्तै छ । ११ महिनाको अवधिमा मात्रै १ अर्ब २४ करोड ८६ लाख २१ हजारको २ करोड २८ लाख ४ हजार १७३ किलो सुन्तला आयात भएको छ । त्यस्तै जेठ मसान्तसम्म १ करोड ४ लाख ८४ हजार १०१ किलो अनार आयात भएको छ । त्यसका लागि १ अर्ब ९ करोड ३ लाख ९८ हजार रकम बाहिरिएको छ ।
यस्तै खरबुजा १ करोड ९७ लाख ३९ हजार २७७ किलो आयात भएको छ । खरबुजाको आयात मूल्य ५१ करोड ३१ लाख ९१ हजारबराबर छ ।
नेपालको हावापानी सुहाउँदो फलका रुपमा रहेको मेवाको आयातसमेत उच्च देखिन्छ । विभागका अनुसार चालू आवको ११ महिनामा ६६ लाख ४४ हजार १६१ किलो मेवा आयात भएको देखिन्छ । मेवाको आयात २३ करोड ४० लाख २ हजार रुपैयाँबराबर छ । यस अवधिमा १५ करोड आठ लाख ३९ हजारबराबर २१ लाख ९४ हजार १९९ किलो नास्पाती आयात भएको छ । साथै १२ करोड चार लाख ६२ हजारको २६ लाख ८५ हजार ६९१ किलो भुँइकटहर (ताजा र सुकेका) आयात भएको छ ।
अम्बा र आँप ७१ करोड ७५ लाख ९४ हजारको आयात भएकामा ६ करोड ९१ लाखबराबरको २ लाख ४५ हजार ८६९ किलो एभोगाडो आयात भएको ।
व्यावसायिक रूपमा मुलुकमै खेती गरिने किबी ६ करोड २२ लाख ६९ हजार बराबर मूल्यमा ३ लाख ३५ हजार ५४७ किलो आयात भएको छ । चालू आवको समीक्षा अवधिमा ९ लाख ९१ हजार २२८ किलो लिची ३ करोड ८७ लाख ६६ हजार मूल्यमा आयात भएको छ ।