काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठ पनि बिदा भएका छन् ।
उनले मन्त्रालयमा सोमबार बिहान पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकालमा गरिएका ५६ बुँदे कामको फेहरिस्त सार्वजनिक गर्दै बिदा भएका हुन् ।
श्रेष्ठ श्रममन्त्रीका रुपमा आएलगत्तै वैदेशिक रोजगारको क्षेत्रमा हुने विभिन्न समस्याहरु समाधानका लागि अग्रसर बनेका थिए ।
पहिले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले सेवा लिन लाइनबस्नुपर्ने बाध्यता थियो । त्यसलाई हटाउँदै छोटो अवधिमै पूर्णरुपमा अनलाइन सेवाको प्रभावकारी कार्यान्वयन हुनु ऐतिहासिक उपलब्धि भएको उनले बताए ।
वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण कामलाई वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणालीमार्फत गर्ने व्यवस्था गरिएको, वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने र आन्तरिक रोजगारीका अवसर सिर्जना गर्न नीतिगत, कानुनी, संरचनागत आधार तयार गरिएको उनले बताए ।
प्रधानमन्त्री रोजगार कार्यक्रम, युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजना, रोजगार प्रवद्र्धन कार्यक्रम र वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुको पुनः एकीकरण परियोजना प्रदेश तथा स्थानीय तहबाट कार्यान्वयनको तयारी अघि बढाइएको उनले सुनाए ।
यस्तै रोजगारीमा जाने श्रमिकलाई बिनाझन्झट सहज र सरल तरिकाबाट सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको र तत्काल गुनासा सम्बोधनको व्यवस्था मिलाइएको बताए । योसँगै श्रम स्वीकृति नवीकरणलाई सरल बनाइएको र सेवाग्राहीका समस्या समाधान गर्न, जानकारी एवं सूचना प्रवाह गर्न हेल्प डेस्क स्थापना गरिएको बिदाइ कार्यक्रममार्फत जानकारी गराए ।
मन्त्रीका रुपमा आइसकेपछि २०७८ कार्तिक २६ गते नेपाल–बेलायत श्रम सम्झौताका लागि बेलायत सरकारको सम्बन्धित निकायसंग वार्ता गर्न कार्यदल गठन गरिएकामा बेलायतसँग श्रम समझदारीका लागि मस्यौदा तयार भइसकेको पनि उनको भनाइ थियो । यस्तै इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भएका श्रमिकहरुलाई निजी क्षेत्र तथा बिचौलीयारहित सरकार–सरकार (जिटुजी) प्रक्रियामार्फत पहिलोपटक इजरायल पठाउन सुरु गरिएको जानकारी पनि उनले दिए ।
श्रमिकहरुको हकहितलाई ध्यानमा राखी नयाँ श्रम गन्तव्य मुलुकको खोजी र श्रम सम्झौताको नवीकरण गर्ने कार्यलाई अगाडि वढाउने क्रममा साउदी अरेबिया तथा सेसेल्ससँग नयाँ श्रम सम्झौता एवं संयुक्त अरब इमिरेट्स, मलेसिया र कतारसँग भएका श्रम सम्झौतालाई समसामयिक परिमार्जन गर्ने पनि उनले जानकारी दिए ।
साथै विदेशमा अलपत्र परेका नेपाली कामदारहरुलाई उद्धार गरी तत्काल आश्रय प्रदान गर्न ओमन, कुबेत, युएई, साउदी अरब र बहराइनमा सेल्टरको व्यवस्था गरिएको र सात वटै प्रदेशवाट वैदेशिक रोजगारीको लागि पुन श्रम स्वीकृति प्रदान गरिएको बताउँदै श्रम स्वीकृतिका सबै सेवाहरु प्रदेशबाटै प्रदान गर्ने गरी तयारी अघि बढाइएको उल्लेख गरे ।
लामो समयदेखि रोकिएको दक्षिण कोरिया र इजरायलमा श्रमिक पठाउने कार्य आफूले कार्यभार सम्हालेपछि सुरु गरिएको दाबी गरे ।
यस्तै ईपीएस नवीकरण प्रक्रिया पनि अघि बढिसकेको पनि उनले बिदाइ कार्यक्रममा बताए ।