काठमाडौं । नेपाल राष्ट्र बैंकको सुपरभिजन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले बैंकका केही प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूलाई बोलाएर पाठ पढाएका छन् ।
जेठ ३१ गते बैंक सुपरभिजन विभागले आयोजना गरेको कार्यक्रममा सहभागीमध्ये केही सीईओहरु राष्ट्र बैंकको नीतिप्रति ‘क्रिटिकल’ बनेपछि ढकालले उनीहरुलाई ठीक पार्न भन्दै कार्यकक्षमा बोलाएर पाठ पढाएका हुन् ।
राष्ट्र बैंकको नीतिले वित्तीय क्षेत्र गम्भीर अप्ठ्यारोमा परेको भन्दै सीईओहरुले आलोचना गरेका थिए ।
‘जो जो सीईओले केन्द्रीय बैंकमाथि आलोचना गरेका थिए, उनीहरूमाथि इगो साँध्दै कार्यकक्षमा बोलाएर थर्काएका हुन्’, बैंक सुपरभिजन विभागका एक अधिकारीले क्यापिटल नेपालसँग भने, ‘मौन बस्ने सीईओहरुलाई बोलाइएको थिएन । तर, जो जो सीईओहरु अली बढी आक्रामक रूपमा प्रस्तुत हुनुभएको थियो उहाँहरुलाई ढकाल सरले बोलाएर सम्झाउनु भएको हो ।’
जेठ ३१ गतेको कार्यक्रममा केही सीईओले कर्जा निक्षेप अनुपात (सीडी) लागू गरेकाले अहिले यस्तो अवस्था आएको भन्दै केन्द्रीय बैंकको आलोचना गरेका थिए । त्यसबाहेक सेयर धितो कर्जा ४/१२ करोड रुपैयाँको नीति पनि अवैज्ञानिक भएको र त्यसले पनि अर्थतन्त्रमा ठूलो असर पारेको भन्दै केन्द्रीय बैंकको नीतिको आलोचना गरेका थिए ।
नेपाल बैंकर्स एसोसिएसन (एनबीए) का अध्यक्ष अनीलकुमार उपाध्याय, उपाध्यक्ष तथा एनएमबी बैंकका सीईओ सुनील केसी, ग्लोबल आइएमई बैंकका सीईओ रत्नराज बज्राचार्य, सेन्चुरी बैंकका सीईओ मनोज न्यौपाने, सिटिजन्स बैंकका सीईओ गणेशराज पोखरेल, कुमारी बैंकका सीईओ रामचन्द्र खनाललगायतले जेठ ३१ गतेको कार्यक्रममा आफ्नो धारणा राखेका थिए ।
असार मसान्त नजिकिँदै गएपछि राष्ट्र बैंकले बैंकहरुमा सुपरभिजन बढाएको छ । असार मसान्तभित्र सीडी सीमभित्र ल्याउन, ४/१२ लाई कडाइका साथ पालना गर्न, आगामी आर्थिक वर्षको कार्यक्रम बनाउँदा उत्साहित नहुन बैंकहरुलाई सचेत गराएको थियो ।
त्यही बेला केही बैंकका सीईओहरुले केन्द्रीय बैंक सूक्ष्म व्यवस्थापन (माइक्रो म्यानेजमेन्ट) मा उत्रिएकाले काम गर्न कठिन भएको भन्दै आलोचना गरेको थिए ।
सोही दिन आलोचना गर्ने सबै सीईओलाई केही दिनअघि मात्रै बोलाएर अबउप्रान्त केन्द्रीय बैंकको आलोचना नगर्न सचेत गराएको विभागका एक अधिकारीले बताए ।