काठमाडौं । भारतले रसियासँग मार्चबाट सस्तोमा कच्चा तेल (क्रुड आयल) किनिरहेको छ । भारतले अहिले प्रतिदिन ८ लाख ४० हजार ६ सय ४५ ब्यारेल कच्चा तेल ४० डलर सस्तोमा किनिरहेको छ ।
आयल प्राइस डटकमका अनुसार अन्तर्राष्ट्रिय बजारमा अहिले ब्रेन्ट क्रुड आयलको मूल्य प्रतिब्यारेल ११३.१ डलर छ । तर, भारतले भने प्रतिब्यारेल ७३ डलरमा कच्चा तेल किनिरहेको छ ।
रसिया–युक्रेन युद्ध सुरु भएपश्चात् भारतले रसियासँग ठूलो परिमाणमा कच्चा तेल किनेर रिफाइन गरिरहेको छ । अहिले त्यही तेल भारतसहित नेपालमा पनि बिक्री भइरहेको छ ।
तर, रसियासँग त्यति सस्तोमा किनेको तेल नेपालमा किन आइरहेको छैन भन्ने प्रश्न चौतर्फी उठिरहेको छ । कि भारतसँग सस्तोमै तेल किनेर नेपाली जनतालाई बेचिरहेको छ ? भन्ने प्रश्नसमेत हुन थालेको छ ।
तर, भारतले कुन देशसँग कच्चा तेल कति मूल्यमा किन्यो भन्नेले कुनै अर्थ नराख्ने नेपाल आयल निगमका कर्मचारी बताउँछन् ।
नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच भारतको डोमेस्टिक मार्केटको प्राइससँग नेपालले तेल किन्दैन । नेपालले अन्तर्राष्ट्रिय रुपमा जे मूल्य निर्धारण हुन्छ, त्यहीअनुसार पेट्रोलियम पदार्थ किन्छ ।
रसियासँग भारतले कच्चा तेल किन्नु/नकिन्नुमा नेपाललाई कुनै सरोकार नहुने निगमका प्रवक्ता विनितमणि उपाध्याय बताउँछन् ।
'विश्वका सबै आयल कम्पनीले अन्तर्राष्ट्रिय मूल्यअनुसार पेट्रोलियम पदार्थ किनबेच गर्छन् । नेपालमा पनि सोही मूल्य लागू हुन्छ । ‘जब अन्तर्राष्ट्रिय मूल्यअनुसार तेल किन्ने नियम लागू हुन्छ भने भारतले कुन देशसँग कति मूल्यमा कच्चा तेल किन्यो भन्नेले कुनै अर्थ राख्दैन’, उपाध्यायले भने ।
अहिले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको दुई खाले बिजनेस भएको छ । एकः कच्चा तेल ल्याएर आफ्नो रिफाइनरीमा प्रोडक्सन गर्यो, त्यसको एउटा मूल्य । दुईः तयारी पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार भाउ अर्को ।
रसिया–युक्रेन युद्ध सुरु हुनुपूर्व कच्चा तेल र तयारी तेलबीच बढीमा १० डलरसम्म फरक हुन्थ्यो । रिफाइनरी शुल्क भनेर १० डलर राखिएको थियो । अहिले रसिया युक्रेनबीच युद्ध भइसकेपछि त्यो फरक तोडिएको छ ।
अहिले ५० देखि ६० डलरसम्म कच्चा र तयारी तेलको मूल्य फरक भइरहेको छ । पहिले रिफाइनरी चार्ज भनेर १० डलर लिइन्थ्यो भने अहिले ६० डलरसम्म लिन थालिएको छ । अहिले विश्वमै रिफाइनरीवालाको एक किसिमको मूल्य छ भने तयारी तेलको मूल्य अर्कै छ ।
जुन देशमा रिफाइनरी छ, उसले सस्तोमा कच्चा तेल किनेर १० डलर राख्नुपर्ने रिफाइनरी शुल्क ६० डलरसम्म राखेर बेच्न पाइरहेको छ । विश्वभरका रिफाइनरीको नाफैनाफा छ । तर, तयारी पेट्रोलियम पदार्थ बेच्दाखेरि घाटैघाटा रहेको उपाध्याय बताउँछन् ।
भारतको पनि रिफाइनरी नाफामा छ भने मार्केटिङ डिभिजन पूरै घाटामा । अहिले भारतीय आयल कर्पोरेसनले प्रतिलिटर डिजेलमा २३ रुपैयाँ र १३ रुपैयाँ हाराहारी पेट्रोलमा घाटा व्यहोरिरहेको छ ।
आईओसीको मासिक घाटा अहिले ४० अर्ब हाराहारी पुगेको छ ।
भारतमा भएका रिफाइनरीले मस्त कमाइरहेका छन् । मार्केटिङ मात्रै लसमा छ । भारतले पनि अन्तर्राष्ट्रिय बजारअनुसार नै मूल्य निर्धारण गर्छ । उसले सस्तोमा तेल ल्याएर भारतीय जनतालाई पनि कुनै फाइदा भएको छैन । तर, भारतले मूल्यमा कन्ट्रोल भने अवश्य गरेको छ ।
अहिले नेपालभन्दा भारतमा पेट्रोलको मूल्य ३२ रुपैयाँ सस्तो छ । र, विश्वभर यही खेल चलिरहेको छ ।
भारतमा पनि निजी क्षेत्रका पेट्रोल पम्प छन् । उनीहरुले पेट्रोलियम पदार्थ बेच्नै छाडेका छन् । कारण, भारत सरकारले तेलको मूल्य कन्ट्रोल गरिदियो । त्यसपछि भारतमा भएका निजी पम्पहरुले तेल बेच्न बन्द गरेका हुन् । सोही कारण त्यहाँका सबै जनता आईओसीको पम्पमा पुगेका छन् ।
सबै भारतीयहरु आईओसीमा तेल हाल्न लाइन लाग्दा उसको मासिक घाटा ४ हजार करोड भारु भइरहेको छ । तर, रिफाइनरीले भने मालामाल कमाइरहेकै छन् ।