काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ परिसूचक उच्च अंकले बढेको छ । यस दिन नेप्से परिसूचक ९३.५४ अंकले बढेर १९ सय ५५ बिन्दुमा पुगेको छ ।
२८ सय बिन्दुबाट झर्ने क्रम निरन्तर राख्दै नेप्से १८ सय ९ न्यून बिन्दु झरेर पुनः १९ सयको बिन्दु पच्छ्याउन सफल भएको छ ।
आज १८ सय ६३ बिन्दुमा खुलेको बजार उकालो लागेर १९५५.६० बिन्दुमा पुगेको हो । केही समययता निरन्तर ओरालो लाग्दै आइरहेको बजार ५.०२ प्रतिशत बढेको हो ।
आइतबार बढेको बजारमा २ अर्ब १९ करोड रुपैयाँबराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन नेप्सेमा १ अर्ब रुपैयाँको समेत कारोबार हुन सकेको थिएन ।
नेप्से परिसूचकसँगै कारोबार बढ्नु सकारात्मक संकेत होइन ।
तर, बढेको बजारमा कारोबार रकम घट्नुलाई राम्रो मानिन्छ । बढेको बजारमा कारोबार उच्च हुँदा क्रेता र बिक्रेता दुवै संग्लनता देखिन्छ । तर, बजार बढेर कारोबार घट्दा पछिल्लो कारोबार दिनका लागि सुखद मानिन्छ । कारोबार घट्नुले क्रेता रहेको तर बिक्रेता नभएको आँकलन गरिन्छ ।
नेप्सेमा आइतबार २३० कम्पनीको ६३ लाख ६३ हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । यस दिन २१ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको देखिन्छ । त्यस्तै, ३१ कम्पनीको सेयर ९ प्रतिशत बढीका दरले बढेको देखिन्छ ।
त्यस्तै आज ४ कम्पनीको ऋणपत्रमा भने केही गिरावट आएको छ ।
आज नेप्सेमा कुमारी बैंकको सर्वाधिक ८ करोड ६४ लाख भएको छ । त्यस्तै हिमालयन डिस्टीलरीको ८ करोड ३७ लाख र नबिल बैंकको ६ करोड ७६ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।