काठमाडाैं । राष्ट्रिय गौरवको योजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडकखण्ड विस्तार आयोजनाको म्याद सकिन केही दिन मात्रै बाँकी छ । तर, सडक विस्तारको प्रगति भने १८ प्रतिशत मात्रै देखिएको छ ।
विसं २०७९ साउन २२ गतेभित्र सडक विस्तारको काम सकाएर सरकारलाई हस्तान्तरण गर्नेगरी २०७५ माघ २४ गते सम्झौता भएको थियो । ४२ महिनाभित्र निर्माण सक्ने गरी सरकारसँग भएको सम्झौताअनुसार निर्माण कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड’ले करिब दुई महिना ढिला गरी सडक विस्तार थालेको थियो । विभिन्न अवरोध र कोभिड–१९ का कारण काममा ढिलाइ भएको हो ।
नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका प्रमुख इन्जिनियर रमेशकुमार दिष्टी पछिल्लो समय सडक विस्तारको कामले गति लिएको बताउँछन् । 'रुख कटानमा अवरोध भयो, बिजुलीको खम्बा पनि समयमै फेर्न सकिएन', उनले भने ।
उक्त सडकखण्ड सहरी क्षेत्रमा ६ लेन तथा अन्यत्र चार लेनमा विस्तार हुँदैछ । निर्धारित समयमै काम नसकिने दिष्टीको भनाइ छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत ११४ किमी लामो नारायणगढ–बुटवल सडकको पूर्वी खण्डमा ६५ किमी सडक पर्छ । सडकको बीच भागमा बिरुवा रोपण गरिने आयोजनाले जनाएको छ ।
सडकको ४२.७ किमी खण्ड चार लेनको हुनेछ भने दाउन्ने खण्डको ४ किमी सडक तीन लेनको मात्रै हुनेछ । पूर्वी खण्डमा सडक विस्तारसँगै १२ ठूला तथा २२ साना पक्की पुल निर्माण हुँदैछन् । 'ठूला ११ र साना नौ पुल निर्माण सम्पन्न भएका छन्', योजना प्रमुख दिष्टीले भने ।
सडक विस्तार गर्न पूर्वी खण्डको गैँडाकोटदेखि दाउन्नेसम्म मापदण्डभित्र पर्ने ३६ हजार २६७ रुख कटान गरिएको छ । केही स्थानमा मात्रै रुख कटानको काम बाँकी रहेको उनले बताए । विस्तारसँगै गैंडाकोटको पितौजीदेखि देवचुलीको प्रगतिनगरसम्म सडक कालोपत्रे गर्ने गरी काम अघि बढेको छ ।
एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार सुरु भएको उक्त सडक निर्माणको लागत १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ छ । लागतको ८५ प्रतिशत रकम एसियाली विकास बैंक (एडिबी) ले ऋणस्वरूप उपलब्ध गराएको प्रमुख दिष्टीले जानकारी दिए । गैंडाकोट–दाउन्ने सडकखण्ड (६५ किमी) को लागत ९ अर्ब १३ करोड १९ लाख तथा दाउन्ने–बुटवल खण्ड (४९ किमी) को लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ छ ।