एजेन्सी । गएको बुधबार भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले दिवान हाउजिङ फाइनान्स लिमिटेड (डीएचएफएल) र यसका निर्देशकहरू कपिल वागवान, धीरज वागवान र अन्यलाई गरी विभिन्न १७ वटा बैंकहरुबाट ३ खर्ब ४६ अर्ब १५ करोड भारतीय रुपैयाँ (भारु) ठगी गरेको आरोपमा मुद्दा दायर गरेको छ ।
सीबीआईले दर्ता गरेको भारतमा यो सबैभन्दा ठूलो बैंक ठगीको मुद्दा हो । यसअघि एपीजी सिपयार्ड केसमा २ खर्ब ३० अर्ब भारु ठगी गरेको अभियोगमा मुद्दा दायर गरिएको थियो । यस बैंकमा पनि ठगी गरेको भन्दै सीआईबी र इन्फोर्समेन्ट डाइरेक्टरेटले पनि वागवन दाजुभाइमाथि अनुसन्धान गरिरहेको छ ।
डीएचएफएल र एचडीआईएल वागवन परिवारहरुद्वारा सञ्चालित रियल स्टेट र हाउसिङ फाइनान्स व्यवसायहरू हुन् । डीएचएफएलका राकेश वागवान स्वर्गीय राजेश वागवानका कान्छो भाइ हुन् । कम्पनी कपिल र धीरजले अहिले चलाउँछन् । मुम्बई प्रहरीको आर्थिक अपराध शाखाले रियल स्टेट फर्म हाउसिङ डेभलपमेन्ट एन्ड इन्फ्रास्ट्रक्चर लिमिटेडका प्रवद्र्धक राकेश वागवान र उनका छोरा सारंग वागवान उर्फ सन्नी दिवानले पन्जाब र महाराष्ट्रमा ठगी गरेको बताइएको छ ।
कान्छो भाइ धीरज दिवानलाई मुम्बईमा बाबा दिवानको रूपमा चिनिन्छ । यो प्रकरणले लाखौं सेयरधनीहरू, मुद्दती निक्षेप राख्ने लाखौं ग्राहकहरू र धेरै ठूलो रकम उधारो दिने बैंकहरूबाहेक बन्ड र डिबेन्चर धारकहरूलाई असर गरेको छ । डीएचएफएलमा स्टेट बैंक अफ इन्डिया (एसबीआई) को १ खर्ब १० करोड भारुको एक्सपोजर छ ।
यस वर्ष मार्च र अप्रिलमा इन्डिया टुडे र द प्रिन्टले यस बैंक ठगीको आरोपमा धीरज वागवान पक्राउ गरेको दुई वर्ष बितिसक्यो भन्ने समाचार लेखेका थिए । तर, उनले जेलभन्दा विलासी अस्पतालमा बढी समय बिताएका थिए ।
२६ अप्रिल २०२० मा उनको गिरफ्तारीपछि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राणा कपुर र उनको परिवारलाई पर्याप्त अनुचित लाभको सट्टामा डीएचएफएलका लागि यस बैंकबाट ३७ अर्ब भारु लगानी प्राप्त गरेको आरोपमा वागवानको जमानत अस्वीकार गरिएको छ ।
तर, उनी ९ महिनादेखि जेलमा छन् । बाँकी १५ महिना वा सोभन्दा बढी उनले आफ्नो समय अस्पतालहरूमा बिताएका छन् । यी बसाइहरूमध्ये मुम्बईको भव्य कोकिलाबेन धीरुभाइ अम्बानी अस्पतालमा १० महिना बसेका थिए ।
वागवानले बारम्बार अदालतमा निवेदन दिँदा असफल भएका थिए । उता महाराष्ट्र मानवअधिकार आयोगले उनलाई अस्पतालमा भर्ना हुन अनुमति दिएको थियो ।
सन् २०२० मा गिरफ्तारी हुनुअघि वागवान एक वरिष्ठ आईपीएस अधिकारीको सहयोगमा महाराष्ट्रमा कोभिडबाट बच्न सफल भएका थिए । पुणे र सतारा दुवै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिन नदिन बन्दाबन्दी रहेका बेला पनि वागवान परिवार अरूसँगै खण्डालादेखि महाबलेश्वरस्थित फार्महाउससम्म आफ्नो कारमा गएका थिए ।
हप्ताअघि उनीहरूले कोभिडको हवाला दिँदै सम्पत्ति शुद्धीकरण अनुसन्धानमा सोधपुछका लागि उपस्थित हुन छोडेका थिए । जब दाजुभाइ, उनीहरूका परिवार, भान्छा र सहयोगीहरू दुई रेन्ज रोभर र तीन फच्र्युनर गाडीमा छुट्टी मनाउन खण्डालादेखि महाबलेश्वरसम्म १८० किलोमिटर यात्रा गरेको एनडी टिभीले रिपोर्ट सार्वजनिक गरेको छ ।
विवादास्पद यात्रालाई अनिवार्य बिदामा पठाइएका महाराष्ट्र सरकारका गृह प्रमुखसचिव अमिताभ गुप्ताले सहजीकरण गरेको आरोप लागेको छ । यस्तै वागवनले सञ्चालन गरेको हाउसिङ डेभलपमेन्ट एन्ड इन्फ्रास्ट्रक्चर लिमिटेडले पन्जाब एन्ड महाराष्ट्र कोअपरेटिभ बैंकलाई बैंक अधिकारीहरूसँग मिलेर ४५ अर्ब भारु बढीको ठगी गरेका छन् ।