काठमाडौं । सर्वोच्च अदालतले दिएको अल्पकालीन अन्तरिम आदेशलाई लत्याउँदै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीलाई हटाउने प्रस्ताव सञ्चालक समितिमा अघि बढेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले आफू पदमुक्त हुनुअगावै बोर्डका सीईओ रेग्मीलाई जुनसुकै हालतमा भए पनि हटाउने तयारीमा लागेका हुन् ।
मन्त्री आलेको ठाडो आदेशमा आइतबार बिहानै बोर्ड सञ्चालक समितिको बैठक डाकिएको थियो । तर, अहिलेसम्म बस्न सकेको छैन ।
आइतबार बस्ने बैठकमा बोर्डका सीईओ रेग्मीलाई हटाउने प्रस्ताव अध्यक्ष महेश्वर न्यौपानेले ल्याएको सञ्चालक समितिका उपाध्यक्ष चन्द्र रिजालले जानकारी दिए ।
‘सीईओ हटाउने प्रस्ताव अध्यक्षज्यूले ल्याउनुभएको छ’, रिजालले भने, ‘निर्णय के हुन्छ थाहा छैन । बैठकका लागि म जाँदैछु ।’
मन्त्री आलेको इच्छा पूरा गर्नकै लागि निजी क्षेत्रबाट प्रतिनिधित्व गर्ने बोर्डका दुई जना सदस्यहरुलाई पदबाट हटाइसकेको छ ।
मन्त्रालयले असार ७ गतेकै निर्णय भन्दै ङावा ङिमा शेर्पा र कृष्ण शाहलाई पत्र पठाइसकेको छ । अब निजी क्षेत्रबाट ३ जना मात्र सदस्यहरु रहनेछन् ।
यस्तै सरकारीस्तरबाट अर्थ मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण लगायतबाट सदस्यहरु रहनेछन् । यसअघि पनि बोर्डका सीईओ रेग्मीलाई हटाउने तयारी गरे पनि निलम्बनमा परेका शेर्पा र शाहसहित अर्थ मन्त्रालयका प्रतिनिधिले असन्तुष्ट जनाएपछि रोकिएको थियो ।
सीईओ रेग्मीलाई यसअघि पुस २ गते निलम्बन गरेको थियो ।