वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९्/८० का लागि ३ अर्ब ३३ करोडको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाले आज वीरगञ्ज–१० मा आयोजना गरेको ११औं नगरसभामा आगामी आर्थिक वर्ष लागि ३ अर्ब ३३ करोड ६३ लाख २६ हजारको अनुमाति बजेट सार्वजनिक गरेको हो ।
‘औद्योगिक तथा व्यापारिक सहर, सुसंस्कृत सभ्य हाम्रो वीरगञ्ज महानगर’ भन्ने नारासहित महानगरपालिकाका उपप्रमुख इत्यिाज आलमले नगरसभामा बजेट प्रस्तुत गर्दै चालुतर्फ कूल बजेटको ६२.०४ प्रतिशत र पुँजीगततर्फ कुल बजेटको ३७.९६ प्रतिशत बजेट विनियोजित गरेको जानकारी दिए । उनले चालुतर्फ २ अर्ब ६ करोड ९८ लाख ५० हजार रूपैयाँ र पुँजीगततर्फ १ अर्ब २६ करोड ६४ लाख ७५ हजार रूपैयाँ छुट्याइएको बताए।
सभालाई बजेट प्रस्तुत गर्दै उपप्रमुख आलमले आन्तरिक आयबाट ९५ करोड रूपैयाँ, संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँटबाट १ अर्ब ७० करोड ६२ लाख ५८ हजार रूपैयाँ, मधेस प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँट र विशेष अनुदानबाट ७ करोड ९८ लाख २४ हजार रूपैयाँ, क्षेत्रीय सहरी विकास आयोजनाका लागि दातृ संस्था एशियाली विकास बैंकबाट १२ करोड ६१ लाख ८५ हजार रूपैयाँ, सडक बोर्ड नेपालबाट २ करोड, जिल्ला समन्वय समितिको कार्यालय पर्साबाट ९६ लाख रूपैयाँ, युनिसेफबाट २५ लाख रूपैयाँ स्रोत प्राप्त हुने अनुमान गरिएको जानकारी दिए ।
उनले अपुग हुने ४४ करोड १९ लाख ५९ हजार रूपैयाँ चालू आवको अन्त्यमा स्थानीय सञ्चिति कोषमा रहेको नगद मौज्दातबाट व्यहोरिने बताए । बजेट प्रस्तुत गर्दै उपप्रमुख आलमले आउने आवको आगामी साउन १ गतेदेखि लागू हुने गरी महानगरपालिकामा कार्यरत कर्मचारीको तलबमा १५ प्रतिशत वृद्धि गरेको जानकारी दिए ।
कार्यक्रमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख राजेशमान सिंहले स्वास्थ्य, शिक्षा र पूूर्वाधारको विकासलाई जोड दिनुका साथै सुशासनलाई प्राथमिकतामा राखिएको जानकारी दिए । उनले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै असारे विकासलाई निरुत्साहित गरिने र महानगरपालिकाको प्रशासनिक सेवालाई चुस्तदुरुस्त बनाउँदै परम्परागत विधिलाई परिमार्जित गर्दै महानगरपालिकाको सबै वडालाई अनलाइन प्रविधिसँग जोडिने बताए। रासस