काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आन्तरिक उडानमा रहेका एयरलाइन्सहरुलाई १३ गतेदेखिनै लागू हुने गरी तोकिएको बेस (रात्रिकालीन पार्किङ) अनुसारको नयाँ तालिका मागेको छ ।
क्यानले बिहिबार नै एयरलाइन्सहरुलाई पत्रचार गरी नयाँ तालिका माग गरेको हो ।
वायुसेवा सञ्चालक संघ र प्राधिकरणबीच भएको वार्तामा हेलिकप्टरको पार्किङ तत्कालका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै हुने र एयरलाइन्सले भने तोकिएकै बेसमा जानुपर्ने सहमति भएको थियो । तत्कालका लागि सहमति भए पनि प्राधिकरणले एयरलाइन्सहरुलाई भने तोकिएको बेसमध्ये रोजेर रात्रिकालीन बास बस्न सक्ने अप्सन खुला गरेको थियो । त्यहीअनुसार प्राधिकरणले बिहीबार पत्रचार गर्दै नयाँ तालिका पठाउन निर्देशन दिएको हो ।
तर, एयरलाइन्सहरुले भने १३ गतेको ठाउँमा १७ गते (जुलाई १) देखि लागू हुने गरी नयाँ तालिका दिने समय माग गरेका छन् । यस विषयमा प्राधिकरणसँग एयरलाइन्समा अनुरोध गरे पनि कुनै जवाफ आएको छैन ।
प्राधिकरण भने १३ गतेदेखि नै लागू गराएर १४ गते बिहानको पहिलो उडान बेसबाटै गराउने अडानमा रहेको छ ।
‘प्राधिकरणले गरेको निर्णय हामी मान्न तयार छौं । तर, एयरलाइन्सको आन्तरिक तयारीका लागि केही दिन थप समय मागेका छौं’, एक एयरलाइन्सका उच्च अधिकारीले भने, ‘तर प्राधिकरणले कुनै जवाफ दिएको छैन ।’
एयरलाइन्सले मागेको समयको विषयमा शुक्रबार प्राधिकरणसँग छलफल गर्ने भनिए पनि छलफल हुन नसकेको वायुुसेवा सञ्चालक संघका एक अधिकारीले जानकारी दिए । ‘शुक्रबार गर्ने भनिएको छलफल हुन सकेन । सायद प्राधिकरण पेलेरै जाने मुडमा भएर हुन सक्छ’, ती अधिकारीले भने ।
यता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले भने धेरै एयरलाइन्सहरु १३ गतेदेखि नै उपत्यका बाहिरका विमानस्थलमा रात्रिकालीन पार्किङका लागि जाने गरी तयारी गरिसकेको जानकारी दिए ।
‘कुन एयरलाइन्स कहाँ बस्ने भन्ने तालिका हामीलाई प्राप्त भएको छ’, महाप्रबन्धक ठाकुरले भने, ‘तत्कालै फाइनल गरेर उहाँहरुलाई दिन्छौं ।’
एका–दुई एयरलाइन्सबाहेक सबैले तालिका तयार पारेको हुनाले कुनै विवाद भएजस्तो नलागेको उनले सुनाए । बेसबाटै उडानका लागि एयरलाइन्सबीच नै छलफल गरेर तोक्न भनिएको समेत उनले बताए ।
प्राधिकरणले रात्रिकालीन पार्किङका लागि उपयुक्त भएका विमानस्थलहरु तोकेकाले एयरलाइन्सहरुबीच नै आपसी समझदारी गरेर बस्न पाउनेछन् ।
यसैेबीच बुद्ध एयरले भने १३ गतेदेखि नै उडानका लागि तयार रहेको भन्दै प्राधिकरणमा नयाँ तालिका पेस गरिसकेको प्रवक्ता रुपेश जोशीले जानकारी दिए । ‘यती एयरलाइन्स र हामीबीचको सहमतिमै नयाँ तालिका पेस गरिसकेका छौं’, प्रवक्ता जोशीले भने ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले ९ वटा एयरलाइन्स कम्पनीको ५२ वटा जहाज उडान योग्य रहेकामा ३५ वटा उपत्यका बाहिरबाट उडान गर्ने गरी अनुमति लिएको बताउँदै काठमाडौं बेस भएर उडान गर्ने जहाज भने १७ वटा मात्र रहेको जानकारी दिए ।
काठमाडौं बाहिर बुद्धले ९, श्रीले ६, यतीले ३, सौर्यले २, समिटले ३, ताराले २, सीताले ३, गुणले ५ र नेपाल वायुसेवा निगमले २ वटा जहाज रात्रिकालीन बासका लागि उपत्यका बाहिरका विमानस्थलमा जानुपर्ने उनले बताए । ती एयरलाइन्सहरुले चन्द्रगढी, विराटनगर, जनकपुर, भरतपुर, भैरहवा, पोखरा, सिमरा, नेपालगन्ज, धनगढी र रामेछापका लागि बेस तोकेका छन् ।