स्याङ्जा । वालिङ–१ धरमपानीमा व्यावसायिक रूपमा ड्रागनखेती सुरु भएको छ ।
वालिङ नगरपालिका–१ का कृष्णप्रसाद ढुंगानाले गत फागुनदेखि ८० रोपनी जमिन भाडामा लिएर ४ हजार बिरुवाबाट व्यावसायिक ड्रागन खेती थालेका हुन् ।
यस क्षेत्रकै नयाँ र नौलो व्यवसायको थालनी उहाँले युट्युबको सहायतामा अघि बढाएकाे बताए ।
'युट्युब हेर्दै जाँदा ड्रागन खेतीकाबारेमा देखेपछि यस क्षेत्रमै नयाँ र सम्भावना देखेकाले व्यावसायिक रूपमा थालनी गर्ने सोंच बनाएँ', उनले भने, 'सुरुमा जमिन भाडामा लिएर सम्याउने काम सकिएसँगै ४ हजार बिरुवा लगाएर सुरुवात गरेको हुँ ।'
८० रोपनी जमिनमा ३० हजार ड्रागनका बिरुवा लगाउने योजना उनको छ ।
३० हजार बिरुवाका लागि उनले १० हजार सिमेन्टका खम्बा निर्माण गरेका छन् भने प्रत्येक खम्बामा तीन-चार वटा बिरुवा लगाउने तयारीमा पनि उनी छन् । सिँचाइका लागि पर्याप्त पानीको आवश्यकता नपर्ने, हावापानी र माटो ड्रागनखेतीका लागि उपयुक्त भएकाले हालसम्म लगाएको बिरुवा राम्रो हुँदै गएको उनकाे भनाइ छ ।
'वीरगन्ज, विराटनगरबाट बेर्ना तथा बीउ ल्याएर लगाएको हुँ', उनले भने, 'अहिले राम्रो हुँदै गएकाले अझै बिरुवा थप्दै विस्तार गर्दै जाने तयारीमा छु '
नयाँ र नौलो फल हुनुका साथै यसको माग पनि बढ्दै गएकाले उत्पादित वस्तुको बजारीकरणमा समस्या नहुने उनको धारणा छ ।