काठमाडाैं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य संस्थालाई बिमितको उपचार सेवालाई नियमित गर्न आग्रह गरेको छ ।
बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले विज्ञप्ति जारी गर्दै स्वास्थ्य संस्थाले पठाएका बिमितको उपचारबापतको भुक्तानीको प्रक्रिया भइरहेकाले बिमितलाई नियमित स्वास्थ्य सेवा प्रवाह गर्न आग्रह गरेका छन् ।
'परीक्षण भएका दाबीको भुक्तानी यथाशीघ्र गर्ने कार्यमा बोर्ड लागिपरेको छ । आगामी दिनमा कार्यतालिका तयार गरी नियमित भुक्तानी गरिने व्यहोरा अवगत गराउँदै बिमितलाई नियमित स्वास्थ्योपचार प्रवाह गर्न सम्पूर्ण सेवाप्रदायक स्वास्थ्य संस्थालाई बोर्डले अनुरोध गरेको छ', जारी विज्ञप्तिमा भनिएको छ ।
बिमा बोर्डले बिमितबापतको रकमको भुक्तानी नगरेको भन्दै त्रिवि शिक्षण अस्पताल, बिएन्डसी मेडिकल कलेज र नोबेल मेडिकल कलेजले बिमितको उपचार नगर्ने घोषणा गरेका थिए ।
स्वास्थ्य बिमा कोष व्यवस्थापन तथा सञ्चालन कार्यविधि, २०७८ अनुसार स्वास्थ्य बिमा कोष स्थापना भई बोर्डमा प्राप्त सम्पूर्ण रकम उक्त कोषमा मौज्दात रहने व्यवस्था र परीक्षण भएका दाबीको १२ महिना भुक्तानी गर्न सकिने व्यवस्था रहेको बसाैलाले बताए ।
उनका अनुसार चालू आर्थिक वर्षको जेठ १५ गतेसम्म १८ लाख ५३ हजार ९५३ वटा बीमितको भुक्तानीको दाबी प्राथमिकताका साथ परीक्षण भइरहेको छ । आव २०७८/०७९ मा विगत वर्षका बाँकी रहेका १९ लाख नौ हजार ५७ संख्या र चालू आवमा ३३ लाख ७५ हजार ८३७ बिमित गरी कुल ५२ लाख ८४ हजार ८९४ बिमित बिरामीको दाबी परीक्षण गरी ८ अर्ब १३ करोड रुपैयाँ भुक्तानी गरिसकेको जानकारी दिए ।
बोर्डमा दैनिक हुने दाबी बढ्दो क्रममा रहेको दाबी प्रविष्ट हुने र दाबी परीक्षण गर्ने अनुपातमा तादम्यता मिलाउन जनशक्तिको अभावमा केही विलम्ब भएकाे भन्दै आगामी आवमा दाबी परीक्षण कार्यलाई वैज्ञानिक प्रविधि अनपाई परीक्षण गर्ने तयारी भइरहेको बताए ।
अहिलेसम्म ७७ जिल्लाका ७४६ स्थानीय तहमा करिब ५६ लाख ३९ हजार नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध छन् । प्रतिपरिवार ३ हजार ५०० रुपैयाँ तिरेर एक लाखसम्मको उपचारबापतको सेवा बिमा कार्यक्रममा दिइन्छ । हाल सेवाप्रदायक स्वास्थ्य संस्थाबाट दैनिक २५ देखि ३० हजारले दाबी गरिरहेका छन् ।