काठमाडौं । शुक्रबार नेपाल स्टक एक्सचेञ्ज ‘नेप्से’ परिसूचक उच्च अंकले बढेको छ । यसदिन नेप्से परिसूचक १३.७८ अंकले बढेर १८ सय ६२ बिन्दुमा पुगेको छ ।
२८ सय बिन्दुबाट झर्ने क्रम निरन्तर राख्दै नेप्से १८ सय ८ न्यून बिन्दुबाट सामान्य अंकले बढेको हो । बढेको बजारमा १ अर्ब १५ करोडको कारोबार भएको छ । आज १८ सय ४८ बिन्दुमा खुलेको बजार न्यून १८०८ बिन्दु झरेर पुनः उकालो लाग्दै १८६२ बिन्दुमा पुगेर बन्द भएको छ ।
आज बजार खुलेदेखि नै निरन्तर ओरालो लाग्दै १८०८ बिन्दुबाट एकाएक ७० अंकले उचालिएको हो । करिब ४० मिनेटको अन्तरालमा मार्केट ७० अंकले उचालिएर र पुनः केही अंकले घटेको बन्द भएको छ ।
एकाएक ७० अंक बजार उचालिँदा लगानीकर्ता सोच मग्न भएको बताउँछन् । आज नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको माग सम्बोधन गर्ने जनाएपछि पुँजी बजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालाले अनशन तोडेका छन् । कोइरालाले अनशन तोडेको खबर आएसँगै बजार ७० अंकले उचालिएको देखिन्छ ।
निरन्तर ओरालो लाग्दै आएको बजारमा सामान्य करेक्सन आइरहेको बेला शुक्रबार भने बढेको छ । शुक्रबार बढेको बजारले आगामी यात्रा तय नगरेको विश्लेषक बताउँछन् । आजको उकालो यात्राले बजार बढ्ने र घट्ने कुनै आधार नदेखिएको उनीहरुको भनाइ छ ।
बोर्ड लगानीकर्ताको माग सम्बोधनमा सकारात्मक देखिए पनि मौद्रिक नीतिले ४–१२ लगाएका कुरा सम्बोधन नगरेसम्म बजारमा करेक्सन आएर तल्लो यात्रा १८ सय र माथिल्लो यात्रा १९ वरिपरि नै रहने उनीहरुको आकलन छ ।
नेप्सेमा शुक्रबार २२३ कम्पनीको ३५ लाख ४१ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । आज न्यादी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा उच्च १० प्रतिशतले बढेको छ । साथै सीवाईसी नेपाल, लाइफ इन्स्योरेन्स र राधी विद्युतको सेयरमूल्य उच्च दरले बढेको छ ।
त्यस्तै आँधीखोला लघुवित्तको उच्च दरले घटेको छ । यसदिन लघुवित्तको सेयरमूल्य सबैभन्दा बढी ७.८८ प्रतिशतले घटेको छ । आज नेप्सेमा कुमारी बैंकको सर्वाधिक ८ करोड ६३ लाख भएको छ ।
त्यस्तै न्याङदी ग्रुपको ६ करोड ३१ लाख र लइमी बैंकको ४ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।