काठमाडौं । निजी लगानीमा झापाको धुलाबारीमा पाँचतारेस्तरको होटल इस्टर्न प्रालि सञ्चालनमा आउने भएको छ ।
निर्माणकार्य चलिरहेको होटलको हालसम्म ७७ प्रतिशत काम सकिएको होटलले जनाएको छ । होटल आगामी एक वर्ष अर्थात् सन् २०२३ को जुलाइसम्म सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
होटल क्यासिनोसहितको हुनेछ ।
प्रस्तावित होटलमा स्विट र डिलक्स गरी ८७ कोठाहरु हुनेछन् । यसको निर्माण खर्च ९३ करोड ३० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । ६५ करोड ९० लाख रुपैयाँ ऋण र बाँकी २७ करोड ५० लाख रुपैयाँ संस्थापकहरुको स्वपुँजी (इक्विटी) लगानी हुनेछ ।
७१ प्रतिशत ऋण र २९ प्रतिशत इक्विटी हुने गरी लगानी संरचना तयार पारिएको होटल इस्र्टनले जनाएको छ ।
होटलले १ अर्ब ७ करोड रुपैयाँ ऋणको रेटिङसमेत गराएको छ । केयर रेटिङस नेपालले होटलको ऋणलाई केयर एनपी ए फोर रेटिङ दिएको छ ।
६१ करोड १२ लाख रुपैयाँबराबरको वित्तीय व्यवस्थापन भइसकेको छ । बाँकी रकम छिट्टै व्यवस्थापन हुने जानकारी इस्टर्नले दिएको छ । यस्तै इक्विटीतर्फको १०० प्रतिशत लगानी भइसकेको छ ।
होटलमा फुड एन्ड बेभरेज सेवाका साथै, क्यासिनो, स्विमिङ पुल, बैंकेट हल, रेष्टुराँ, कन्फेरेन्स हल र स्पालगायत अन्य धेरै सुविधा रहने बताइएको छ ।
सामान्यतया, होटलहरूलाई रिकभर गर्न लामो समय चाहिन्छ । प्रिमियम होटललाई तीनदेखि चार वर्ष लाग्ने छ भने सञ्चालनमा स्थिरता आउन अझै दुईदेखि तीन वर्ष लाग्न सक्छ । नेपाली बैंकिङ क्षेत्रमा अस्थायी ब्याजदरको अवस्था रहेको छ । जहाँ त्रैमासिक आधार दरमा निश्चित प्रिमियम थपिन्छ । त्रैमासिक आधारमा ब्याजदर परिवर्तन हुन्छ ।
होटल झापाको चन्द्रगढी विमानस्थलबाट ३ किलोमिटर दूरीमा छ । भारत नजिक भएका कारणले पश्चिम बंगालबाट बढी आउने अपेक्षा गरिएको छ । होटल र पश्चिम बंगाल राज्यको सीमाना ६ किलोमिटर मात्रै छ ।
होटल भारतीय पर्यटकमा निर्भर रहनेछ ।
सरकारले झापालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न साढे ४८ करोड रुपैयाँ बजेट विनियोजन गरेकाले यसबाट होटलले लाभ लिन सक्ने बताइएको छ ।
होटलको अध्यक्षमा दीपक खड्का रहेका छन् । खड्काको जलविद्युत् र पर्यटनका साथै अन्य क्षेत्रमा पनि लगानी रहेको छ । होटल फरेस्ट इनमा पनि उनको लगानीे छ ।
होटल १ लाख १ हजार स्वायर फिट क्षेत्रफलमा फैलिने भएको छ । यसबाहेक क्यासिनोको क्षेत्रफल १२ हजार स्क्वायरफिट रहेको छ ।