तनहुँ । तनहुँको भानु नगरपालिकाले आगामी आर्थिक वर्ष ०७९/८० का लागि ८९ करोड ६८ हजार रूपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ ।
बिहीबारदेखि सुरु नगरसभामा उपप्रमुख उमा गोतामेले आगामी आर्थिक वर्षका लागि उक्त अनुमाति बजेट प्रस्तुत गरेका हुन् । सार्वजनिक बजेटमध्ये सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान १५ करोड ६५ लाख रूपैयाँ, सशर्त चालु अनुदान ३७ करोड आठ लाख रूपैयाँ, सशर्त पुँजीगत १ करोड ३९ लाख रूपैयाँ, विशेष अनुदान १ करोड ५० लाख रूपैयाँ, समपुरक अनुदान २ करोड २० लाख रूपैयाँ, संघीय राजस्व बाँडफाँटबाट १२ करोड ५७ लाख ६३ हजार रूपैयाँ आम्दानी हुने अनुमान छ ।
प्रदेश सरकारबाट वित्तीय हस्तान्तरणअन्तर्गत समानीकरण अनुदान १ करोड ८८ लाख रूपैयाँ, राजस्व बाँडफाँटबाट १ करोड २२ लाख १५ हजार रूपैयाँ, प्रदेश समपूरक १ करोड रूपैयाँ प्राप्त हुने नगरपालिकाको अनुमान छ ।
नगरपालिकाले चालू आर्थिक वर्षको असार ८ गतेसम्म ५३ करोड ४३ लाख २१ हजार रूपैयाँअर्थात् ५२.६९ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । कुल खर्चमध्ये चालूतर्फ ३६ करोड ८३ लाख ४६ हजार ६१० रूपैयाँ र पुँजीगततर्फ १६ करोड ५७ लाख ७५ हजार रूपैयाँ रहेको नगरपालिकाले जनाएको छ ।
नगरवासीलाई घरमै सेवा पुर्याउने र कर भुक्तानीलाई सरल, सहज र प्रविधिमैत्री बनाउन चालू आवदेखि नै मालपोत तथा सम्पत्ति कर मोबाइलबाट भुक्तानी गर्ने व्यवस्था मिलाइएको नगरप्रमुख आनन्दराज त्रिपाठीले बताए।