काठमाडौं । अर्थतन्त्रका बाह्य सूचकहरुमा दबाब परेपछि नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच छलफल भएको छ ।
सरकार र राष्ट्र बैंकले आयातमा कडाइको प्रयास गरे पनि अर्थतन्त्र सम्हालिने संकेत नदेखिएका बेला कांग्रेस महामन्त्री थापा र गभर्नर अधिकारीसहित राष्ट्र बैंकका उच्च अधिकारीसँग छलफल भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिना (साउनदेखि वैशाख मसान्तसम्म) को वित्तीय विवरणले सबैजसो सूचकको ओरालो लागेपछि कांग्रेस महामन्त्री थापा केन्द्रीय बैंक पुगेका थिए ।
मुलुकको विदेशी मुद्रा सञ्चिति वैशाखमा थप २१ अर्ब ४ करोड रुपैयाँले घटेको छ । वैशाख मसान्तसम्म विदेशी मुद्रा सञ्चिति ११ खर्ब ४६ अर्ब ८८ करोड रुपैयाँमा झरेको छ । चैत मसान्तसम्म यस्तो सञ्चिति ११ खर्ब ६७ अर्ब ९२ करोड थियो । २०७८ असार मसान्तमा भने १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ बराबर थियो ।
१० महिनामै सञ्चिति १८ प्रतिशतले कमी आएको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति झन् धेरै घटेको छ । २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड डलर रहेकामा २०७९ वैशाख मसान्तमा २१.१ प्रतिशतले कमी आई ९ अर्ब २८ करोड डलर कायम भएको तथ्यांक केन्द्रीय बैंकले थापासामू प्रस्तुत गरेको थियो ।
कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५.१ प्रतिशत छ । पछिल्लो आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी मुद्राले ६.५७ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने गभर्नर अधिकारीले थापालाई जानकारी गराएका थिए ।
मुलुकको भुक्तानी अवस्था (शोधनान्तर स्थिति)को घाटा पनि वैशाख महिनामा मात्रै २० अर्ब २४ करोड रुपैयाँ थपिएको छ । साउनदेखि वैशाख मसान्तसम्म २ खर्ब ८८ अर्ब ५० करोड रुपैयाँले भुक्तानी सन्तुलन घाटामा छ । चैतसम्म यस्तो घाटा २ खर्ब ६८ अर्ब २६ करोड थियो । अघिल्लो वर्ष वैशाख मसान्तसम्म यस्तो शोधनान्तर स्थिति ७ अर्ब ७५ करोड बचतमा थियो ।
मुलुकमा भित्रिने र बाहिरिने रकमको अन्तरलाई शोधनान्तर स्थितिले जनाउँछ । मुलुकमा भित्रिनेभन्दा बाहिरिने रकम बढी हुँदा शोधनान्तर स्थिति घाटामा जाने गभर्नर अधिकारीले जानकारी गराएका थिए ।
१० महिनामा चालू खाता ५ खर्ब ४७ अर्ब ३६ करोड घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब ५१ अर्ब २९ करोड रुपैयाँ घाटामा थियो । मुलुकको १० महिनाको व्यापार घाटा संशोधित बजेटको हाराहारी पुगेको छ । यस अवधिमा व्यापार घाटा १४ खर्ब ३१ अर्ब रुपैयाँ पुगेको छ । संशोधित चालु आर्थिक वर्षको बजेट आकार १४ खर्ब ४७ अर्ब रुपैयाँ हो ।
वैशाखमा मात्रै मुलुकको व्यापार घाटा १ खर्ब २५ अर्ब २१ करोड रुपैयाँ थपिएको छ । आयातमा गरिएको कडाइले वैशाखमा व्यापार घाटा अघिल्ला महिनाको तुलनामा केही सम्हालिएको देखिन्छ । तर, समग्रमा १० महिनाको समीक्षा अवधिमा यस्तो व्यापार घाटा २५ प्रतिशत बढेको छ ।
चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्म कुल १६ खर्ब ४ अर्ब ६५ करोड रुपैयाँको वस्तु आयात भएकामा मुलुकबाट भने १ खर्ब ७३ अर्ब ३५ करोड रुपैयाँको सामान निर्यात भएको छ । अर्थतन्त्र धानिरहेको रेमिट्यान्स भने वैशाखमा घटेको छ । चैतमा ९३ अर्ब ५५ करोड भित्रिएको रेमिट्यान्स वैशाखमा ८७ अर्ब ५ करोड रुपैयाँमा खुम्चियो ।
साउनदेखि वैशाखम मसान्तसम्म कुल ८ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो रेमिट्यान्स रकम गत वर्षको यसै अवधिको तुलनामा ०.२ प्रतिशत बढी देखिए पनि डलरमा भने १.६ प्रतिशत कम हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्सको आप्रवाह १९.२ प्रतिशत बढेको थियो ।
अर्थतन्त्रका बाह्य सूचक संकटोन्मुख देखिएका बेला महँगी उकालो लागिरहेको छ । वैशाखमा मूल्यवृद्धि (महँगी) करिब ८ प्रतिशत पुगेको छ । वैशाखमा बिन्दुगत उपभोक्ता मूल्यवृद्धि ७.८७ प्रतिशत छ । गत वर्षको सोही महिनामा यस्तो मूल्य वृद्धि जम्मा ३.६५ प्रतिशत थियो ।
खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि ७.१३ प्रतिशत तथा सेवा समूहको ८.४५ प्रतिशत छ । खाद्य समूहअन्तर्गत घिउ तथा तेल उपसमूहको मूल्यवृद्धि सबैभन्दा उच्च २४.८६ प्रतिशत रहेको गभर्नर अधिकारीले महामन्त्री थापासामू बताएका थिए ।
महामन्त्री थापाका अनुसार अहिलेको अर्थतन्त्रको वर्तमान अवस्थाका बारेमा केन्द्रीय बैंकका गभर्नर अधिकारीसहित डेपुटी गभर्नर निलम तिम्सिना ढुंगाना, कार्यकारी निर्देशक डा. गुणाकर भट्टसँग ब्रिफिङ लिएका थिए ।
निरन्तर कायम रहेको तरलता अभाव, विदेशी मुद्राको सञ्चितिमाथि परेको दबाब र सेयर बजारका बारेमा आफूले चिन्ता लिएको महामन्त्री थापाले क्यापिटल नेपाललाई बताए ।
सर्वसाधारणले थेग्नै नसक्नेगरी आकासिएको मूल्यवृद्धि र त्यसलाई नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने बारेमा थापाले राष्ट्र बैंकका अधिकारीसँग सोधेका थिए ।
अहिलेको मूल्य वृद्धि आन्तरिक कारणले भन्दा पनि बाह्य कारणबाट सिर्जित भएकाले तत्काल बान्छित सीमाभित्र राख्न चुनौति रहेको केन्द्रीय बैंकका अधिकारीले जवाफ दिएका थिए ।