काठमाडौं । कुखुराको दाना उत्पादन गर्दै आएको अनमोल फिडको सञ्चालन आम्दानी १४ प्रतिशतले घटेको छ । सन् २०२१ मा उद्योगले कुखुराको दाना बिक्री गरी ८८ करोड ५० लाख रुपैयाँ मात्र सञ्चालन आम्दानी गरेको छ ।
अघिल्लो वर्ष सन् २०२० मा अनमोलको सञ्चालन आम्दानी १ अर्ब ३ करोड ३० लाख रुपैयाँ थियो । सन् २०२० को तुलनामा सन् २०२१ मा अनमोल फिडको आम्दानी १४ करोड ८० लाख रुपैयाँले घटेको छ । सन् २०१९ मा उद्योगले कुखुराको दाना बिक्रीबाट १ अर्ब १० करोड रुपैयाँ आम्दानी गरेको थियो ।
सन् २०११ मा भरतपुरमा स्थापना भएको अनमोलले ६ प्रकारका दानाहरु उत्पादन गर्दै आएको छ । जसमध्ये ब्रोइलर, लेयर्स, गिरिराज र प्यारेन्ट गरी ४ प्रकारको कुखुराको दाना उत्पादन गर्दै आएको छ । यस्तै बंगुर र माछाको दाना पनि उत्पादन थालेको अनमोलले जनाएको छ ।
उद्योगले रुची र नौलो प्लेट ब्राण्डमा दाना उत्पादन गरिरहेको छ । उद्योगको दाना उत्पादन क्षमता वार्षिक ३६ हजार टन रहेको छ । दानाको मूल्य घटेका कारण आम्दानीमा गिरावट आएको उद्योगले जनाएको छ । तर, बिक्री परिमाण बढेको उद्योगले जनाएको छ ।
सन् २०२१ मा उद्योगले १८ हजार ७५६ टन कुखुराको दाना बिक्री गरेको छ । सन् २०२० मा उद्योगले १८ हजार ३४७ टन दाना बिक्री गरेको थियो । दाना बिक्रीको मार्जिन औसतमा ८ प्रतिशत रहेको छ । अनमोलको ९९ प्रतिशत आम्दानी दानाको बिक्रीबाट प्राप्त हुने गरेको छ । उद्योगले मकै, भटमास, केक र धानलगायत अन्य कृषिजन्य उत्पादनबाट कुखुरा, बंगुर र माछाको दाना उत्पादन गर्दै आएको छ ।
अनमोलले ८८ करोड ९१ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ । केयर रेटिङस नेपालले उसलाई केयर एनपी ए फोर रेटिङ दिएको छ ।