काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकले आर्थिक वर्ष ०७९/८० को बजेटबाट किसानलाई अनुदान दिने कार्यक्रम हटाएर प्रोत्साहन गर्ने नीति लिइएको जानकारी दिएका छन् ।
विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुसहितको प्रतिनिधिमण्डलसँग भएको एक छलफलमा मन्त्री शर्माले साना किसानलाई प्रोत्साहन गर्न सके उत्पादन वृद्धि हुन सक्ने देखेर यस्तो नीति लिइएको प्रष्ट पारेका थिए । ‘गरिब किसाानले लिने थोरै ऋण पनि पुग्न सकेको छैन ।
साना किसानले ऋण लिएको छ भने इमान्दारितापूर्वक फिर्ता गरेको उदाहरण पनि छन्’, उनले भने, ‘तर, अनुदान भने वास्तविक र साना किसानसम्म पुगेन । त्यसपछि हामीले प्रोत्साहन गर्ने नीति लिएका हौं ।’ उनले आर्थिक वर्ष ०७९/८० को बजेटबाट कृषिलाई पहिलो प्राथमिकता राखिएको जानकारी गराउँदै दातृ निकायको समेत साथ र सहयोग आवश्यक रहेको बताए ।
किसानको उत्पादन बजारसम्म सहजै पुर्याउनका लागि कृषि एम्बुलेन्सको सुरुवात गरेको उनले बताए । उनले वार्षिक साढे ३ खर्बभन्दा बढीको कृषि वस्तुको आयातलाई प्रतिस्थापन नगरेसम्म व्यापार घाटा कम हुन नसक्ने निष्कर्ष रहेको पनि बताए ।
‘आयात प्रतिस्थपानका लािग कृषि उपजको उत्पादन बढाउने, औद्योगिक बस्तुको उत्पादकत्व वृद्धि गरी निर्यात प्रवद्र्धन गर्ने र सेवा क्षेत्रसमेत निर्यात गर्ने लक्ष्य राखिएको छ’, उनले भने । जमिन, पानी वन तथा समग्र प्राकृतिक स्रोतहरूको अधिकतम उपयोग गरी राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित गर्न खोजिएको पनि जानकारी गराएका थिए ।
बजेटले लिएको नीतिकै कारण भारतको हैदराबादमा रहेको दुईवटा सूचना प्रविधिसम्बन्धी विश्वविद्यालय सहकार्य गर्न नेपाल आइसकेको उनले जानकारी दिए ।
कार्यक्रममा विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले खाद्य सुरक्षामा ध्यान दिन आग्रह गरेकी थिइन् । उनले आर्थिक विकासका लागि कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नु उपयुक्त भएको बताएकी थिइन् ।