काठमाडौं । विशाल ग्रुपअन्तर्गतको युनाइटेड डिस्ट्रिब्युटर्स नेपाल प्राइभेट लिमिटेडको व्यापार २५.६२ प्रतिशतले बढेको छ ।
सन् २०२१ मा मात्रै कम्पनीले १२ अर्ब २३ करोड १० लाख रुपैयाँको कारोबार गरेको छ । सन् २०२० मा युनाइटेडले ९ अर्ब ७३ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो ।
एक वर्षको अवधिमा कम्पनीले २ अर्ब ४९ करोड रुपैयाँले कारोबार बढेको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ । युनाइटेडले २०१९ मा ९ अर्ब ३३ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीले वार्षिक रुपमा व्यापार बढाउँदै लगेको सार्वजनिक ३ वर्षको वित्तीय विवरणमा उल्लेख गरेको छ ।
फेयर मार्केट भ्यालुमा युनाइटेको लगानी पोर्टफोलियो १ अर्ब ४० करोड १० लाख रुपैयाँ रहेको छ । ग्रुपले बैक तथा वित्तीय संस्था बिमामा ९० प्रतिशत लगानी रहेको छ । बाँकी १० प्रतिशत अन्य क्षेत्रमा लगानी गरेको छ ।
राजधानीको खिचापोखरीमा रहेको युनाइटेड कम्पनी आयात र व्यापारमा संलग्न छ । जसअनुसार युनाइटेडले विश्वभरिका एक दर्जन एफएमजी कम्पनीद्वारा उत्पादित १३५० भन्दा बढी उत्पादन तथा ७० ब्रान्ड नेपालमा बिक्री तथा वितरण गर्दै आएको छ ।
युनाइटेड प्रोक्टर एन्ड ग्याम्बल, ग्लास्गो स्मिथक्लाइन, ब्रिटानिया इन्डस्ट्रिज गुजरात कोअपरेटिभ मिल्क मार्केटिङको नेपालको एक मात्र सोल वितरक रहेको छ ।
युनाइटेडसँग फास्ट मुभिङ कन्ज्युमर गुड्स (एफएमसीजी) को आयात र व्यापारमा करिब दुई दशकको रेकर्ड छ। युनाइटेड विशाल समूह अफ कम्पनीहरूको एक हिस्सा भएकोले व्यवसायिक रुपमा बलियो छ। व्यापार, उत्पादन, आतिथ्य सत्कार, बिमा र बैंकिङमा संलग्न विभिन्न समूह संस्थाहरू मार्फत नेपालमा उपस्थिति रहेको छ ।
सन्तोषजनक नाफा मार्जिन, सहज पूँजीको साथ सञ्चालनको मापनमा दिगो वृद्धिलाई निरन्तरता कायम गरेको छ । सञ्चालन चक्र, विदेशी मुद्रा उतार चढाव जोखिम र अस्थिर ब्याजदर र प्रतिस्पर्धाको जेखिम कार्यम रहेको केयरले औल्याएको छ ।
विशाल ग्रुपले सन् २००३ मा युनाइटेडको स्थापना गरेको हो ।
ग्रुपले व्यापार, उत्पादन, पर्यटन, बैंकिङ र बिमा क्षेत्रमा लगानी विस्तार गरेको छ । ग्रुपको अध्यक्षमा अनुज अग्रवाल रहेका छन् । अग्रवाल नेपाल इन्फ्रास्ट्रक्चर बैंकका अध्यक्ष पनि हुन् । कम्पनीको प्रबन्ध सञ्चालकमा विवेक अग्रवाल रहेका छन् । युनाइटेडले राजधानीबाहेक बारा र पर्सामा साढे ६ सय डिलरहरुमार्फत व्यवसाय गरिरहेको छ ।
युनाइटेडले ७ अर्ब १२ करोड ऋणको रेटिङ गराएको छ । केयर रेटिङस नेपाल लिमिटेडले केयर एनपी ए टु रेटिङ दिएको छ । बलिया संस्थापक भएका कारण युनाइटेडको उपस्थिति बलियो देखिएको छ ।