काठमाडौं । निरन्तर घट्दो सेयर बजारले बिहीबार पनि निरन्तरता पाएको छ । समग्रमा सबै समूह ओरालो लागे पनि जलविद्युत् समूहमा बढी गिरावट देखिएको छ ।
उच्च गिरावट हुने २५ कम्पनीमा (म्युचुअल फन्ड) बाहेक १७ जलविद्युत् समूहका छन् ।जसको सेयर मूल्य ६ प्रतिशत बढी घटेको छ । शिवश्री हाइड्रो पावरको कारोबार समयमा नकारात्मक सर्किट लागेको भए पनि अन्तिम समयमा ९.५६ प्रतिशतले घटेको छ ।
समग्रतामा मंगलबारको तुलनामा बुधबार पनि ३१ अंकले घटेर १८९३.५३ अंकमा रोकिएको नेप्से परिसूचक बिहीबार कारोबार १८८९.४ मा खुलेको थियो । नियमित कारोबारसँगै बजार घट्ने क्रमले तीव्रता लियो र १८३५.८८ बिन्दुसम्म झर्यो । मध्य समयपछि भने केही उठ्ने संकेत गर्न खोजे पनि बजार सुध्रिएन । यद्यपि, अन्तिम समयमा केही उकालो लाग्दै ४५.२५ अकंले १८४८.२८ अंकमा नेप्से रोकिएको छ ।
बिहीबार बजार घटाउन १७८ कम्पनीले सहयोग गरे । बजार घटे पनि केही कम्पनीहरुको सेयर मूल्यमा भने सकारात्मक वृद्धि देखिएको छ । खासगरी सुरुवाती कारोबारमै रहेका आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्त सकारात्मक सर्किटका साथ कारोबार गरिरहेका छन् भने अन्य कम्पनीहरु झिनो अंकले बढेका छन् ।
बजार सूचक घटे पनि बिहीबार कारोबार रकममा भने सुधार आएको छ । तर, कुनै पनि कम्पनीको सेयर कारोबार १० करोड रुपैयाँ पुगेको छैन । ५० लाख ८ हजार कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४९ करोड ९७ लाख रुपैयाँबरारबको सेयर किनबेच भएको छ । जुन बुधबारको ८० करोड ६५ लाखको तुलनामा झण्डै दोब्बर हो ।
सबैभन्दा बढी कारोबार भएको कुमारी बैंकको ९ करोड ५३ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य २ सय रुपैयाँभन्दा तल झरेको छ । वाणिज्य बैंक समूहमा कुमारी, लक्ष्मी र सेन्चुरी बैंकको सेयर मूल्य २ सय तल छ भने सिभिलको २ सयमा रोकिएको छ ।
निरन्तर घट्दो बजारमा अझै बजार घट्ने अनुमानहरू भइरहेका छन् । बढ्दो मूल्यवृद्धि, रित्तिँदो राज्यको ढुकुटी, विकास खर्च हुन नसक्नु, सेयर लगानीकर्ता आफैं आमरण अनसनसम्मको आन्दोलन चलाएर बस्नुजस्ता कारणले बजारलाई थप दबाबमा राख्न खोजेको देखिन्छ ।
बिहीबारको कारोबार प्रवृत्ति र लगानीकर्ताको खस्किँदाे मनोबलले बजार अझै घट्ने आशंकामा बल मिलेको छ ।