काठमाडाैं । यति बेला खेतमा व्यस्त हुने कैलालीका किसान रासायनिक मलको अभाव, पर्याप्त वर्षा तथा सिँचाइ व्यवस्था नहुँदा र खेत जोत्नका लागि इन्धनको सहज आपूर्ति हुन नसक्दा फुर्सदिला देखिएका हुन् ।
पछिल्लो समयमा परम्परागत रुपमा गरिँदै आएको कृषि प्रणालीलाई आधुनिकीकरण गर्ने उद्देश्यले अधिकांश किसानसँग खेत जोत्नको लागि पावरटिलर छ । उक्त उपकरणबाट काम गर्न सहज हुनाका साथै छिटोछरितो पनि हुने भएकाले किसानले अनुदानमा होस् वा आफैं खर्च गरेर भए पनि पावरटिलर राखेका छन् तर पछिल्लो समयमा डिजेलमा भएको अस्वभाविक मूल्य वृद्धिका कारण पनि अपेक्षाअनुसार खेती गर्न नसक्ने अवस्थामा पुगेको किसानको गुनासो छ ।
कैलालीको टीकापुर नगरपालिका–३ का रतिराम विश्वकर्माले गत वर्ष यति बेला तीन बिघा खेतमा धान रोपिसकेका थिए । यसपटक भने भर्खरै सिँचाइको पानी खेतसम्म पुगे पनि रासायनिक मल र डिजेलमा भएको अस्वभाविक मूल्य वृद्धिका कारण धान रोप्ने जागर मरेको उनी बताउँछन् ।
'खेती नलगाए के खाने भन्ने पीर छ तर खेती लगाउनलाई अहिलेको महँगीको सामना गर्ने सामर्थ्य छैन', रतिराम भन्छन्, 'भोलिका दिनमा बजारमा आउने वस्तुको मूल्य अहिलेको मूल्यको आधारमा निर्धारण भए त ठिकै छ, होइन भने किसानलाई कृषिबाट आत्मनिर्भर हुने अवस्था निकै कम हुँदै गएको छ ।'
कैलालीको भजनी नगरपालिका–५ का सन्तराम चौधरीले गोरु जोतेरै तीन बिघा खेतमा धान रोप्न आँट गरेका छन् । घरमा खेत जोत्नका लागि पावरटिलर पनि छ । पावरटिलर घरमा थन्क्याएर एक हल गोरुले खेत जोत्न लागेका उनी डिजेलको मूल्य बढ्दै जाँदा पावरटिलर छोडेर पुरानै हल गोरु लिएर खेत जोत्न थालेको बताउँछन् ।
'डिजेलको मूल्य छोइनसक्नु गरी बढ्यो । अहिले यति महँगाेमा डिजेल खरिद गरेर भोलि त्यसबाट लागत नै उठ्ने हो होइन भन्ने यकिन छैन । उत्पादनभन्दा महँगाे लागत हुने भएपछि पुरानै शैलीमा खेती गर्नुको विकल्प छैन', सन्तराम भन्छन्, 'जति सकिन्छ रोप्छौं । नसकिए बाँझै छोड्छौं । आम्दानीभन्दा खर्च बढी गरेर मात्रै के गर्नु ?'
किसानलाई सरकारले डिजेललगायत अन्यवस्तु सहुलियतमा उपलब्ध गराए मात्र किसानलाई कृषिमा आकर्षण गराउन सकिने भजनी नगरपालिका–१ का सञ्जय चौधरीले बताए । ठूलो खर्च गरेर लगाइएको खेती प्राकृतिक विपत्तिबाट क्षति भएको अवस्थामा सरकारले त्यसको ग्यारेन्टी लिनुपर्ने, किसानले उत्पादन गरेको वस्तुको मूल्य निर्धारण बजारको महँगीलाई हेरेर गर्नुपर्नेमा उनले जोड दिए ।
टीकापुरका किसान शिव थापाले रासायनिक मलको विकल्पमा गड्याैला मल प्रयोग गरी धान राेपेका छन् । परम्परागत प्राविधि प्रयोग गरेर खेती गरे पनि सामान्य कृषि गरेर जीविका चलाउने अन्य किसानले अहिलेको महँगीको सामना गरेर खेती गर्ने अवस्था नरहेको उनकाे भनाइ छ ।
'एक लिटर डिजेलले एक कठ्ठा जमिन जोत्न सकिने अवस्था छैन । एक लिटर डिजेलको करिब २ सय पर्छ । सबैसँग आफ्नै साधन छ भन्ने छैन । भाडामा साधन लिएर खेत जोत्दा ५ हजार रुपैयाँमा हुने काम आज १० हजार लाग्ने गरेको छ', थापा भन्छन्, 'हुने उत्पादन उस्तै हो । आज विगतमा खेती गर्दाभन्दा लागत दोब्बर भएको छ । भोलि के किसानलाई उत्पादन भएको वस्तुको मूल्य त्यसैअनुसार निर्धारण गरिएला त ?'