काठमाडौं । जीआई वायरको भन्सार बढाएर गल्ती महसुस गरेर त्यसलाई सच्याउने प्रण गरेका अर्थमन्त्री जनार्दन शर्माले बजेट पास भएपछि बोली फेरेका छन् ।
शर्माले पूर्वका उद्योगसँग २७ गते जेठ जीआई वायर, घ्यु, तेल तथा स्यानेटरी प्याडमा भन्सार बढाएर गल्ती गरेको र संसदबाट बजेट पास हुनेबित्तिकै सच्याउने प्रतिबद्धता जनाएका थिए । तर, अहिले अर्थमन्त्री शर्माले त्रुटि सच्याउनुको साट्टो संरक्षित उद्योगसँग मिलेर अघि बढ्न आग्रह गरेका छन् ।
अर्थमन्त्री पुरानै अवस्थामा फर्किएपछि नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश एक, उद्योग संगठन मोरङ, मोरङ व्यापार संघले संयुक्त रुपमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।
बजेट स्वीकृत भएको एक हप्तापछि अर्थमन्त्री शर्माले संरक्षित उद्योगसँगै मिलेर आउन भन्ने पुरानै भाषा दोहोर्याएपछि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेर अघि बढेको उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए ।
‘अर्थमन्त्रीले दर्जन उद्योगीसामु आफ्नो गल्ती भएको र त्यसलाई बजेट पास भएपछि सच्याउने प्रण गर्नु भएको थियो’, उनले भने, ‘अर्थमन्त्रीको प्रतिबद्धतालाई हामीले विश्वास गर्नै पर्यो । अहिले सच्याउने पक्षमा देखिनु भएको छैन । अझ उहाँले जुन उद्योगलाई संरक्षण दिइएको छ, त्यही उद्योग र तपाईंहरु मिल्नुस्, भनिरहनु भएको छ ।’
उनका अनुसार फाइदा पुगेको उद्योगसँग बसेर नेगोसिएसन गर्ने काम हाम्रो हो र ? हामीलाई मर्का परेका भन्सार बढेर हो । अर्थमन्त्री शर्माले भन्सार घटाउँछु भनेको हो । भन्सार घटाए भइहाल्यो नि । ‘व्यवसायी/व्यवसायी मिलाउने हामी विचौलिया होइनौ । अर्थमन्त्रीले मिलेर आउनस्, भन्नुभयो । मिलेर आउने कुरा होर ?’ उनले भने ।
प्याकुरेलका अनुसार अब यो अर्थमन्त्रीबाट देश चल्दैन भनेर आफूहरु आन्दोलनमा उत्रिएको हो । ‘त्रुटि भयो, सच्याउँछु भनेर गल्ती महसुस गर्नु भएको हो ।
पहिल्यै उहाँले भन्नुपर्थो ‘तिमीहरुले उठाएको माग गलत छ, कुनै हालतमा पूरा गर्न सक्दिन । नीतिगत रुपमा राम्रो कुरा गरेको छु । तपाईहरुले बुझ्नु भएन । तर, उहाँले त सच्याउँछु भनेको हो । अहिले को कसले के कुरा गर्यो अर्थमन्त्रीले बोली फेर्नु भएको छ ।’
यसअघि पनि मर्कामा परेका व्यवसायीलाई भेट समेत नदिएका अर्थमन्त्री शर्माले प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा भेट भएका थिए । प्रधानमन्त्रीले व्यवसायीको मर्का सुन्न र जीआई वायरको भन्सार पुरानै अवस्थामा फर्काउन निर्देशन दिएका थिए । तर, अहिले अर्थमन्त्री शर्मा संरक्षित उद्योगकै पक्षमा उभिएपछि पूर्वका व्यवसायीले आन्दोलका कार्यक्रम घोषणा गरेका हुन् ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत जीआई वायर उद्योगलाई चाहिने कच्चा पदार्थ एमएस वायर रड ९७२१३.९१.१०० आयातमा भारतले १५ प्रतिशत निर्यात शुल्क लगाएको र स्वदेशी उद्योग बचाउन थप सहुलियतको आवश्यकता रहेको सरकारलाई जानकारीसमेत गराएका थिए ।
तर, सरकारले त्यस्ता वस्तुको कच्चा पदार्थ आयात गर्दा लाग्दै आएको ५ प्रतिशत भन्सारलाई बढाएर १० प्रतिशत पुर्याएको र अन्तःशुल्क पनि २५ सयबाट बढाएर ४५ सय प्रतिटन पुर्याएको प्रतिआपत्ति जनाएका छन् ।
जीआई वायर प्रयोजनार्थ चाहिने उच्चकोटीको एमएस वायर रड नेपालमा कसैले पनि उत्पादन नगरेको र आगामी दिनमा उत्पादन गर्ने भनी त्यस्ता काल्पनिक उद्योगलाई संरक्षण गर्न कच्चा पदार्थमा १ प्रतिशत भन्सार शुल्क अन्तःशुल्क छुट, विद्युतमा १५ प्रतिशतसम्म छुट दिई वर्षौंदेखि सञ्चालनमा रहेका जीआई वायर र ग्याभिन उद्योग धरासायी पार्ने काम भएको उद्योगीहरुको भनाइ छ ।