एजेन्सी । केही महिनादेखि आर्थिक संकट झेलिरहेको दक्षिण एसियाली टापु मुलुक श्रीलंकाको अर्थतन्त्र अन्ततः टाट पल्टिएको छ । प्रधानमन्त्री रनिल विक्रमासिंघेले महिनौंदेखि खाद्यान्न, इन्धन र बिजुलीको अभाव झल्दै आएको अर्थतन्त्र ध्वस्त भएको घोषणा गरेका छन् ।
उनले विदेशी मुद्रा सञ्चिति नहुँदा तेल किन्न नसक्ने अवस्थामा पुगेको बताएका छन् । ‘हामी अहिले इन्धन, ग्यास, बिजुली र खाद्यान्नको अभाव भन्दा पनि धेरै गम्भीर अवस्थाको सामना गरिरहेका छौं । हाम्रो अर्थतन्त्र पुरै ध्वस्त भएको छ’, प्रधानमन्त्री विक्रमासिंघेले संसदमा भने ।
प्रधानमन्त्री विक्रमासिंघे अर्थतन्त्रलाई स्थिर गर्ने जिम्मेवारी दिएका अर्थमन्त्री पनि हुन् । ऋणको भार, पर्यटनबाट प्राप्त हुने डलर गुमाएको र महामारीबाट अन्य प्रभावहरू र वस्तुहरूको लागि बढ्दो लागतको भासमा फसेको उनले सांसदहरुलाई जानकारी गराए ।
उनका अनुसार अहिले सिलोन पेट्रोलियम कर्पोरेशनको ७० करोड डलर ऋण छ । ‘विश्वका कुनै पनि देश वा संस्थाले हामीलाई इन्धन दिन तयार छैनन्’ उनले भने ।
विक्रेमासिंघेले श्रीलंकाको विदेशी सञ्चिति घट्दै गएकाले परिस्थितिलाई मोड्न सरकारले समयमै काम गर्न असफल भएको बताए । ‘सुरुमा अर्थतन्त्रको पतनलाई सुस्त बनाउन कदम चालिएको भए, आज हामीले यो कठिन परिस्थितिको सामना गर्ने थिएनौं । तर, हामीले यो अवसर गुमायौं । हामी अब चट्टानको सम्भावित गिरावटको संकेत देखिरहेका छौं’, उनले भने ।
श्रीलङ्काले मुख्यतया छिमेकी भारतबाट प्राप्त हुने ४ अर्ब डलरको क्रेडिट लाइनले लामो समयसम्म थेग्न नसक्ने विक्रमासिंघेले बताए । श्रीलंकाले पहिले नै ऋण तिर्न नसक्ने घोषणा गरिसकेको छ ।
उसले यस वर्ष चुक्ता गर्न बाँकी रहेको ७ अर्ब डलर विदेशी ऋणको भुक्तानीलाई स्थगित गरेको छ । उद्धार प्याकेजमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँगको वार्ताको नतिजा बाँकी छ ।
श्रीलंकाले सन् २०२६ सम्म वार्षिक रूपमा ५ अर्ब डलर तिर्नुपर्ने भएको छ । विदेशी मुद्रा सङ्कटका कारण इन्धन, खाना पकाउने ग्यास र औषधिलगायत अत्यावश्यक वस्तुहरू किन्न मानिसहरूलाई लामो लाइनमा उभिन बाध्य बनाएको छ ।