काठमाडौं । निजामती कर्मचारीमा नवीन सोच ल्याउनका लागि प्रतिभा डबलीको स्थापनाका लागि छलफल सुरु भएको छ ।
संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालय र आइडिया स्टुडियो नेपालको सहकार्यमा भएको अन्तरक्रिया कार्यक्रममा कर्मचारीहरुमा नवीनतम, सिर्जनशील र उद्यमशील मानसिकताको विकास गर्न र आफूमा अन्तरनीहित प्रतिभाको उजागर गर्ने उत्तम अवसर प्रदान गर्ने गरी प्रतिभा डबलीको स्थापना गर्न आवश्यक कार्यविधिको विषयमा समेत छलफल भएको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले निजामती सेवा विकास, सामुदायिक विकास, राष्ट्रिय स्तरका परियोजना कार्यान्वयन र परियोजना लागत नियन्त्रण आदिका कुरामा जोड दिएका थिए । कार्यक्रमको प्रमुख वक्ताको रुपमा परराष्ट्र मन्त्रालयका सहसचिव सुशील लम्सालले आर्थिक वृद्धिका प्रमुख समस्याहरू, निर्देशिका नियमावली, नवीन विचार प्रदर्शन गर्न रणनीति बनाउने कुरामा विशेष जोड दिएका थिए ।
निजामती कर्मचारीले आफ्नो जिम्मेवारी निर्वाहसँगै नीति तर्जुमा तथा कार्यान्वयन, सेवा प्रवाह र विकास निर्माणलगायतका क्षेत्रलाई थप क्रियाशील, व्यावहारिक र व्यवस्थित कसरी बनाउन सकिन्छ भन्ने विषयमा विभिन्न मन्त्रालयलगायतका उच्च अधिकारीहरुले आआफ्नो आइडियाहरु प्रस्तुत गरेका थिए ।
सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारी,सहसचिव नारायणप्रसाद अर्याल, काठमाडौं विश्वविद्यालय व्यवस्थापन संकायका सहप्राध्यापक दिपेश कार्की , आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष तथा सहसंस्थापक डा. छिरिङ लामा, गृह मन्त्रालयका सहसचिव डा. भीष्मकुमार भुसाल लगाएतले विभिन्न विषयमा आफ्नो धारणा राखेका थिए ।
अतिथि वक्ताको रुपमा डा. भगवान कोइरालाले निजामती सेवामा देखिएका समस्या र चुनौतीलाई कसरि नविनतम ढंगले समाधान ल्याउन सकिन्छ भन्ने विषयमा धारणा राखेका थिए ।
काठमाडौं मोडेल कलेजका कलेज प्रमुख सुरेन्द्र सुवेदी र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहप्राध्यापक डा.गोविन्द तामाङले शैक्षिक क्षेत्रमा नवीनताको महत्व, साथै व्यावहारिक सीकाई र नवीनतामा आधारित पाठ्यक्रम निर्माण जस्ता विषयमा भएका कार्यका बारेमा आफ्नो भनाइ प्रस्तुत गरेका थिए ।
पूर्वसचिव कृष्ण ज्ञवालीले निजामती कर्मचारी सेवामा नविनता साथै आफ्नो कार्यकालका अनुभवहरु राखेका थिए ।