काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन फारम भर्ने प्रक्रियामा सेवा विस्तार गर्ने भएको छ । मंगलबारदेखि बुधबार दिउँसोसम्म अनलाइमार्फत फारम भर्दा ओटीपी कोर्ड (फेरिफाइ नम्बर) नआउने समस्या आएपछि विभागले सेवा विस्तारको तयारी थालेको हो ।
नेपाल टेलिकमको सिम प्रयोग गरेर लाइसेन्सको फारम भरेका ग्राहकले मंगलबार बेलुकादेखि बुधबार दिँउसोसम्म ओटीपी कोर्ड प्राप्त गर्न सकेका थिएनन् । जसको कारण देशभरिको लाइसेन्सको अनलाइन आवेदन सेवा प्रभावित भएको थियो । तर, नेपाल टेलिकम बाहेक अन्य सिमबाट भने ग्राहकले ओटीपी कोर्ड प्राप्त गरिरहेकाले सेवा ठप्प नभएको विभागले जनाएको छ ।
नेपाल टेलिकमले ओटीपी कोर्ड नदिँदा १५ हजार बढी मानिसको आवेदन पेन्डिङमा रहेको थियो । बुधबार दिउँसो ३ बजेपछि मात्रै उक्त समस्या समाधान भएको विभागका इन्जिनियर सन्तोष पोखरेलले बताए । ओटीपी कोर्ड प्राप्त नभएसम्म आवेदनको प्रक्रिया पूरा नहुने सिस्टम विभागको छ । विभागको अनिवार्य सिस्टम र टेलिकमले ओटीपी कोर्ड नपठाउँदा सेवाग्राही समस्यामा परेका थिए ।
मेलमा ओटीपी कोर्ड पठाउने तयारी
विभागले अहिलेसम्म लाइसेन्सका लागि फारम भरेपछि फोन नम्बरमा मात्रै ओटीपी कोर्ड पठाउँदै आएको छ । अब त्यसलाई परिवर्तन गरेर ई–मेलमा पनि ओटीपी कोर्ड पठाउने तयारी विभागले गरेको छ ।
इन्जिनियर पोखरेल भन्छन्, ‘सेवाग्राहीलाई आवेदन भर्नका लागि धेरै समस्यामा पार्नु हुँदैन, फोन र ई–मेलमा दुवैमा ओटीपी कोर्ड पठाउने व्यवस्था गर्दैछौं ।’ उनका अनुसार केही दिन पछिबाट ई–मेलमा पनि ओटीपी कोर्ड पठाउने तयारी विभागको छ ।
साथै विभागले एउटा सिम र एउटा नागरिकताबाट एउटा सवारी लाइसेन्सका लागि मात्रै आवेदन दिन मिल्ने व्यवस्था गरेको छ । एउटा सिम र एउटा नागरिकताबाट धेरै आवेदन परेपछि विभागले उक्त नियम लागू गरेको हो ।