काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले नेपाल राष्ट्र बैंकले लिएको ४/१२ करोड रुपैयाँको नीतिले सेयर बजारमा समस्या आएको बताएका छन् ।
मंगलबार बोर्डमा आयोजित पत्रकार सम्मेलनमा हमालले केन्द्रीय बैंकले लिएको ४/१२ को नीतिले बजारमा सेयर खरिदकर्ता घट्दा बजार ओरालो लागेको जिकिर गरे । उनले ४/१२ को नीतिको परिमार्जन गर्नुपर्ने अवाश्यकता औल्याए ।
‘४/१२ को नीतिको परिमार्जन गर्न आवश्यक देखिएको छ’ उनले भने, ‘परिमार्जनको लागि समिति बनेको छ, समितिको प्रतिवेदन आधारमा परिमार्जन गरिनेछ ।’राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमा सर्वसाधारणको पंहुच बढाउन सेयर धितोको कर्जामा ४/१२ करोडको सीमा ल्याएको थियो ।
जसअनुसार कुनै पनि व्यक्ति वा संस्थाले एउटा संस्थाबाट अधिकतम ४ करोड र समग्र प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँसम्म सेयर धितो राखेर कर्जा लिन पाउने व्यवस्था गरिएको छ । सेयर लगानीकर्ताहरुले यसलाई खारेज माग गर्दै आएका छन् ।उनले लगानीकर्ताले बोर्डलाई बुझाएको १९ बुँदे माग मध्यका अधिकांश कार्यान्वयनको चरणमा रहेकोे बताए ।
‘लगानीकर्ताले बोर्डलाई बुझाएको १९ बुँदे मागमा भएका अधिकांश विषय कार्यान्वयन पक्रियामा छन,’ उनले भने, ‘केही माग पूरा गर्न नसकिने पनि छन । हामी वार्तामा भन्दा लगानीकर्ताको समस्याको समाधान गर्ने कार्यान्वयन लागिरहेका छौ ।’
उनले वैदेशिक रोगारीमा रहेका नेपालीलाई प्राथमिक निष्कासन (आईपीओ) मा १० प्रतिशत आरक्षण र गैरआवासीय नेपाललाई पुँजी बजारमा प्रवेश गराउनका लागि भदौभित्र कार्यविधि तयारी पार्ने जानकारी गराएका छन् ।
मुलुकभरका २४ स्थानमा धितोपत्र दलाल (ब्रोकर) कम्पनीहरुको शाखा विस्तारको काम भइरहेको हमालले बताए ।उनले धितोपत्र कारोबार शुल्कको बारेमा बोर्डबाट अध्यन सम्पन्न हुने क्रममा रहेको र प्रतिवेदन तयार पारी सबै सरोकारवालाको सल्लाह परामर्श लिई अन्तिम रुप दिने बताएका छन् ।
उनले पुँजीगत लाभकरसमेत घटाउने विषयमा अर्थमन्त्रीसँग छलफल भइरहेको बताए । यसका लागि राष्ट्र बैंक, धितोपत्र बोर्ड र अर्थ मन्त्रालय सम्मिलित अध्ययन समिति गठन भएको र उक्त समितिले दिएको सुझावअनुसार काम अगाडि बढाइनेसमेत बताए ।
आगामी आर्थिक वर्षदेखि कुनै पनि कम्पनी मर्जरमा जाने निर्णय गरेपछि कारोबार रोकिने अवस्था हटाइने हमालले बताए । यसका लागि मर्जर नियमावली संशोधन हुनुपर्ने उनको भनाइ छ । त्यसका लागि केन्द्रीय बैंकसँग छलफल भइरहेको उनले सुनाए । उनले धितोपत्रको सेटलमेन्ट टी प्लट टू भित्रमा नगर्ने ब्रोकरलाई ठाँउको ठाँउ कारवाही गर्ने बताएका छन ।