सोलुखुम्बु । खुम्बु क्षेत्रको मौसम प्रतिकूल हुँदा खुम्बु आउने अधिकांश पर्यटक गन्तव्य परिवर्तन (ड्राइभर्ट) हुने सम्भावना बढेको छ ।
काठमाडाैंबाट लुक्ला उडानको पर्खाइमा बसेका पर्यटक हवाईसेवा प्रभावित हुने बित्तिकै अन्नपूर्ण पदमार्गतर्फ जाने पर्यटन व्यवसायीले बताएका छन् ।
सगरमाथा क्षेत्रको भ्रमण तालिका बनाएर आएका उनीहरुले खुम्बुको विकल्पका रुपमा अन्नपूर्ण क्षेत्रलाई रोज्ने गरेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए । उनका अनुसार चार दिनसम्म लुक्लामा कुनै पनि उडान नहुँदा करीब ९०० को हाराहारीमा खुम्बु आउने पर्यटक अन्य पदमार्गतर्फ लागेका छन् ।
लुक्लाको उडान रद्द भएपछि पर्यटकसमेत अन्नपूर्ण क्षेत्र जाने गरी गन्तव्य परिवर्तन गर्ने गरेका ट्रेकिङ एजेन्सिज एशोशिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले बताए ।
विदेशी पर्यटकको हवाईमार्गमा चाप अत्यधिक भए पनि मौसम प्रतिकूल हुँदा समस्या भएको स्काई नेपाल ट्रेक्स प्रालि काठमाडाैंका निर्देशक बलबहादुर दर्नालले बताए ।
खुम्बु आउने एक मात्र सहज माध्यम मानिएको हवाईसेवा नै हो । हवाईसेवा नै प्रभावित हुँदा जिल्लाको पर्यटन क्षेत्रमा ठूलो असर परेको पर्यटन व्यवसायीको भनाइ छ ।
लुक्लाका होटल भरिभराउ
मौसम प्रतिकूल भई उडान नहुँदा लुक्लाका होटल खचाखच भरिएका छन् । भ्रमणको निश्चित समय सकेर माथिल्लो क्षेत्रबाट फर्केका पर्यटक उडान नहुँदा लुक्लामै बसेका छन् ।
विगत चार दिनदेखि मौसम प्रतिकूल बन्दा कुनै पनि उडान तथा अवतरण हुननसकेका नागरिक उड्डयन प्राधिकरण लुक्लाका वरिष्ठ अधिकृत रोहित कर्णले जानकारी दिए ।
होटल व्यवसायी जाङमु शेर्पाका अनुसार अहिले लुक्लामा ४०० भन्दा बढी पर्यटक काठमाडौँ जानका लागि विमानको पर्खाइमा छन् । खुम्बुको माथिल्लो क्षेत्रको भ्रमण सकेर फर्केका पर्यटक लुक्लामा विमानको पखाईमा बसेका हुन् ।
केही दिन उडान नभए मूल्यसमेत बढ्ने
हवाईसेवा अवरुद्ध हुँदा खुम्बु क्षेत्रमा खाद्यान्नको भाउ बढ्ने सम्भावना बढेको स्थानीयवासीले बताएका छन् । खुम्बु क्षेत्रमा ढुवानी हुँदै आएको कार्गो सेवासमेत मौसमका कारण बन्द भएपछि दैनिक उपभोग्य वस्तुको मूल्य बढ्न सक्ने पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए ।
हवाईसेवा अवरुद्ध हुँदा ढुवानी बन्द हुने र ढुवानी भएका खाद्यान्नसमेत सकिँदै जाने भएकाले मूल्य बढ्ने उनकाे भनाइ छ ।
मजदूरलाई खर्च अभाव
मौसम प्रतिकूल भई उडान नभएपछि रोजगारीको खोजीमा खुम्बु पुगेका मजदूरलाई समेत समस्या भएको छ । जिल्लाको तल्लो क्षेत्रबाट कामको सिलसिलामा खुम्बु पुगेका अधिकांश युवा पर्यटक नआएपछि त्यत्तिकै बस्न बाध्य छन् ।
रोजगारीको खोजी गर्दै लुक्ला पुगेका महाकुलुङका लक्ष्मण खालिङका अनुसार पर्यटकको पर्खाइमा सयाैँ युवा लुक्लामा बसेका छन् । पर्यटकीय सिजन शुरु भएसँगै कामको खोजीमा खुम्बु पुगेकाहरु मौसम प्रतिकूलताका कारण समस्यामा परेको बताउँछन् ।
कोठामै बसेर खाँदा खर्चसमेत सकिसकेको अर्का मजदूर मनकुमार राईले बताए । जिल्लाको तल्लो क्षेत्रका स्थानीय यो सिजनमा पर्यटक भरिया, सहयोगी, सिकर्मी, डकर्मीका रूपमा खुम्बु क्षेत्र जाने प्रचलन छ ।
उनीहरु महत्वपूर्ण चाड दशैँतिहारमा समेत खुम्बु क्षेत्रमै पर्यटकसँग रमाउने गर्छन् । भोजराज कार्की/रासस