काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाह आफ्नो ४ वर्षे कार्यकाल पूरा गरेर सोमबार नबिल बैंकबाट बिदा भए ।
सोमबार साँझ नबिल बैंकका मुख्य लगानीकर्ता उद्योगपति विनोद चौधरीले शाहसहित व्यवस्थापनका उच्च अधिकारीसहितलाई आफ्नै होटल भिभान्तामा डिनरसहित फेयरवेल गरे । जहाँ बैंकका उपाध्यक्ष निर्वाण चौधरीसहित बोर्डका अरु सदस्यहरू पनि उपस्थित थिए ।
फेयरवेलमा चौधरीले नेपालको बैंकिङ क्षेत्रमा सुरुदेखि दिएको योगदानको साथै नबिलको उचाइमा उनको योगदानको खुलेर प्रशंसा गरे । उनले भने, ‘शाह सधैं हाम्रै टिममा रहनेछन्, उनी चौथोपटक नबिल फर्किए भने पनि त्यो सरप्राइज हुँदैन ।’
'नबिल बैंकका म्यानेजर तहभन्दा माथिका कर्मचारी रहेको सो फेयरवेलमा चौधरीले मर्ज र त्यसपछि नयाँ सीईओ नियुक्त हुँदासमेत शाहले एकपटक आफूलाई किन भनेर प्रश्नसमेत नगरेको बताए । शाह सधैं नबिलियन रहेको र फेरि फर्किए भने अनौठो नमाने हुन्छ', चौधरीले अरु कर्मचारीतर्फ हेर्दै भने ।
अनिल शाहले आफ्नो अबको समय नयाँ पुस्तालाई दिने र बाहिर बसेर सधैं नबिल बैंकलाई सपोर्ट गरिरहने बताए । उनले अप्रत्यक्ष रुपमा आफू अब बैंकिङ क्षेत्रमा नफर्किने संकेत गरेका थिए ।
कर्मचारी समायोजनले मर्जमा नयाँ ट्विस्ट
नबिल र नेपाल बंगलादेश (एनबी) बैंक मर्जमा नयाँ ट्विस्ट देखिएको छ । एनबीका कर्मचारी नबिलमा मर्जपछि एक तह घटुवा हुने दुई बैंकको सहमति छ । तर, राष्ट्र बैंकले यसमा स्वीकृत नदिने भएको छ । राष्ट्र बैंकले दुवै बैंकलाई कर्मचारीको सेवा, सुविधा र पद नघटाई मर्ज गर्न निर्देशन दिएको छ ।
गभर्नर महाप्रसाद अधिकारीले कर्मचारीको मनोबल नगिर्ने गरी मर्ज गर्नुपर्ने दुवै बैंकका सञ्चालक र व्यवस्थापनलाई भनिसकेका छन् । राष्ट्र बैंकमा एनबी बैंकका कर्मचारीहरुले पछिल्लोपटक व्यापक उजुरी दिएपछि गभर्नर अधिकारीले यसमा आफ्नो चासो व्यक्त गरेका हुन् ।
राष्ट्र बैंकको चासोलाई विनोद चौधरीले अनिल शाहसँगको फेयरवेल डिनरमा पनि विषय उठान गरेका थिए । चौधरीले कर्मचारीको एक तह घटाउने सहमति भइसकेको र त्यस आधारमा मात्र मर्ज हुने नत्र मर्ज नहुने आफ्ना सिनियर कर्मचारीलाई बताए ।
‘हामी यस विषयमा प्रस्ट छौं, कर्मचारी समायोजनमा सहमतिअनुसार नै हुन्छ । त्यो भएन भने मर्ज नै हुँदैन’, उनले भने ।
ढुंगानालाई दिइएन नियुक्ति पत्र
विशेष साधारणसभाबाट ज्ञानेन्द्र ढुंगानालाई सीईओ नियुक्त गर्ने निर्णय गरे पनि अनिल शाह बिदा हुँदा ढुंगानालाई सीईओको लागि नियुक्तिपत्र दिने तयारी थियो ।
नबिल बैंकको बोर्डले पछिल्लोपटक ढुंगाना राष्ट्र बैंक पुगेर दोहोरो भूमिका खेलेको आशंका गर्दै नियुक्तिपत्र रोकेको छ । सोमबार नै बसेको बोर्डले ढुंगानालाई नियुक्तिपत्र दिने छलफल चले पनि तत्काललाई यो प्रक्रिया रोक्ने र कर्मचारी समायोजनको विषय सकिएपछि नियुक्तिपत्र दिने निर्णय भएको नबिल बैंकका एक सञ्चालकले क्यापिटल नेपाललाई बताए ।
बोर्डको निर्णयले सुजित शाक्यलाई निमित्त सीईओ दिने निर्णय गरेको छ ।
सीईओ नै फाइनल भएपछि निमित्त दिनु भनेको यसमा नयाँ ट्विस्ट देखा परेको बुझ्नुपर्ने ती सञ्चालकले बताए ।