काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज ‘नेप्से’ परिसूचक उच्च अंकले बढेको छ । आज नेप्से परिसूचक ३७.४९ अंकले बढेर १९ सय १८ बिन्दुमा पुगेको छ ।
२८ सय बिन्दुबाट झर्ने क्रम निरन्तर राख्दै १८ सय ८४ न्यून बिन्दुमा झरेको बजार आज उकालो लागेको हो । आज नेप्से परिसूचक १८८४ बिन्दुबाट कारोबार सुरु भएको हो । बजार खुलेको केही समयमा सामान्य अंकले घट्न खाजेको बजार ५ मिनेटमै उकालो लाग्दै १९१७ बिन्दुमा पुग्न सफल भयो ।
उच्च बिन्दु १९१७ अंकबाट पुनः बजार घटेर १८८७ बिन्दुबाट निरन्तर माथि उक्लिएर १९१८ बिन्दुमा पुगेर बन्द भएको छ । मंगलबार बजारको उच्च बिन्दु र बजार बन्द हुँदाको अन्तिम बिन्दु एउटै देखिन्छ । यसले बजार करेक्सन मात्र भएको देखाउँछ ।
मौद्रिक नीतिसम्म बजारमा सामान्य करेक्सन बाहेक धेरै उतार चढाप हुने देखिँदैन् । सोमबार बजारमा बिक्रेता आत्तिए सेयर बिक्री गर्दा बजार उच्च अंकले घटेको थियो ।
आज बजार उच्च अंकले बढे पनि सेयर खरिद बिक्री र कारोबार रकम भने सोमबारको तुलनामा धेरै नै घटेको छ । नेप्सेमा मंगलबार २३१ कम्पनीको ३७ लाख ६५ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।
आज आँधीखोला लघुवित्त संस्थाको सेयर मूल्य सबैभन्दा उच्च ९.९९ प्रतिशतले बढेको छ । साथै, हालै आईपीओ निष्कासन गरेको सीवाईसी लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशत र हिमाल दोलखा हाइड्रोपावरको सेयरमूल्य ७.७९ प्रतिशतले बढेको छ ।
यस दिन तेह्रथुम पावर कम्पनीको सेयरमूल्य सबैभन्दा बढी २.५० प्रतिशतले घटेको छ । आज नेपाल टेलिकमकको सर्वाधिक ११ करोड ७२ लाख भएको छ । त्यस्तै नबिल बैंकको ४ करोड ४३ लाख र अरुण भ्याली हाइड्रोपावरको ३ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।