काठमाडौं । मंगलबार बिहानै रामेछापमा ब्रेन ह्यामरेज भएका बिरामीकाे उद्धारमा जान सिम्रिक एयरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँग अनुमति माग्यो । तर, विमानस्थलले सिम्रिकको बेस नेपालगन्ज हो, पहिलो उडानका लागि त्यहीँबाट उडान गरेपछि मात्र अनुमति दिने अडान लियो ।
त्यसको केही समयपछि प्रभु हेलिकप्टरले लुक्लाका लागि अनुमति माग्यो । उसलाई पनि पोखरा बेस भएकाले पहिलो उडान त्यहीँबाट गर्नुपर्छ, त्यसपछि मात्र अनुमति दिन्छौं भन्ने जवाफ दियाे ।
विमानस्थलको यस्तो जवाफ आएपछि अन्य हेलिकप्टर कम्पनीहरूले पनि अनुमति माग्ने आँट देखाएनन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्देशनअनुसार ७ गते (आज) को बेलुकाको बास सम्बन्धित बेसमा हुनुपर्ने र पहिलो उडान त्यहींबाट हुनुपर्ने थियो । तर, प्राधिकरणले भने बिहानैबाट उद्धार उडानमा समेत रोक लगाएपछि वायुसेवा सञ्चालकहरु त्रसित बने र तत्कालै आकस्मिक बैठक बसे ।
यता वायुसेवा सञ्चालक संघले प्राधिकरणका महानिर्देशक (डीजी) प्रदीप अधिकारीसँग १२ बजे वार्ताका लागि समय तय गरेको थियो । मंगलबार हुने वार्ताले केही न केही निकास निकाल्ने अपेक्षामा पुगेका सञ्चालकहरु प्राधिकरणको बिहानैदेखिको हर्कतले बिच्किए र भोलि (८) गतेबाटै सम्पूर्ण उडानहरु रोक्ने निर्णयमा पुगे ।
सिम्रिक एयरका सञ्चालक एवं संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले प्राधिकरणकै अवरोधका कारण भोलिबाट सबै उडानहरु रोक्न बाध्य भएको बताए । ‘उद्धार उडानमा समेत रोक लगाएपछि हामी चुप लागेर बस्ने अवस्थामा नपुगेका हौं', अध्यक्ष थापाले भने, ‘बेसका लागि तय गरिएका ठाउँहरुको पूर्वधार नै नभएकाले त्यहाँ जान सक्दैनौं ।’
प्राधिकरणले गरेका हरेक निर्णयमा सञ्चालकहरूलाई बेवास्ता गरिएको र आफूहरूसँग कुनै परामर्श नै नगरी दमनकारी ढंगले प्राधिकरणले हस्तक्षेप गरेका कारण यस्तो निर्णय गर्न बाध्य भएको उनको भनाइ छ ।
प्राधिकरणका डीजीसँग १२ बजेका लागि तय गरिएको वार्ताका लागि समेत अधिकारीले समय दिएनन् ।
महानिर्देशक अधिकारीले संघका पदाधिकारीहरूसँग वार्ता र संवाद नै नगर्ने मुडमा पुगेपछि संघले पत्रकार सम्मेलन गरी आकस्मिक उडानसमेत नगर्ने निर्णय गरेका छन् ।
संघको निर्णयसँगै एयरलाइन्स कम्पनीहरुले गरेकाे टिकट बुकिङ फिर्ता गर्न थालिएको छ । यात्रुहरुको बुकिङ भएको टिकटको रकम फिर्ता दिने काम सुरु भइसकेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।
प्राधिकरणले पनि समसामयिक विषयलाई लिएर ३ बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ ।