काठमाडौं । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप एनआईसी एसिया बैंकले सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू डिजिटल माध्यमबाट प्रदान गर्ने रणनीति लिएको छ।
सोही अनुरुप बैंकले डिजिटल भुक्तानी प्रवर्धन गर्नका लागि प्रदेश १ स्थित सुनसरी जिल्लाको धरान शाखाबाट धेरै संख्यामा क्युआर कोड वितरण गर्न सुरू गरेको छ। बैंकले क्युआर कोड उक्त ठाउँका २ सयभन्दा बढी अटो रिक्सा एवम् सिटी सफारी जस्ता सवारी साधनहरूमा सुरुवाती चरणमा वितरण गरेको हो।
सोमबार एक कार्यक्रमबीच बैंकका प्रदेश १ का प्रमुख विकास खरेलले साे क्षेत्रमा डिजिटल कारोबार बढाउन नगर क्षेत्रभित्र रहेका २ सयभन्दा बढी ई-रिक्सा सदस्यलाई क्युआर भुक्तानी सेवा वितरण गरेका हुन्।
साे क्युआर कोड सेवा लिन बैंकको सर्वश्रेष्ठ सहज बचत खाता खोलेका ग्राहकहरूलाई बैंकले शून्य मौज्दात मै एक वर्षको निमित्त १० लाख रुपैयाँ रकम बराबरको दुर्घटना बिमासमेत उपलब्ध गराएको छ।
‘क्युआर सेवाबाट कारोबार गर्दा समग्र नगर क्षेत्रमा डिजिटल कारोबारलाई बढाउन टेवा मिल्नेमा हामी विश्वस्त छौं,’ बैंकका प्रदेश १ प्रमुख विकास खरेलले भने, ‘साथै बैंकले दिन लागेको निःशुल्क १० लाख रुपैयाँको दुर्घटना बिमाले यातायात सेवा प्रदायकलाई भविष्यमा आइपर्न सक्ने भवितब्यलाई मलम लगाउनसमेत ठूलो सहयोग मिल्नेछ।’
बैंकले थालेको क्युआर कोड वितरण अभियानले धरान क्षेत्रमा रहेका यातायात प्रणालीहरूमा डिजिटल कारोबार गर्दा सहजता प्रदान गर्ने विश्वास राखिएको छ।
बैंकले नेपाल सरकारको नगदरहित कारोबार बढाउने रणनीतिलाई पछ्याउँदै देशका हरेक क्षेत्रमा बढीभन्दा बढी क्षेत्रहरूमा क्युआर भुक्तानी सेवा वितरण गर्ने अभिलाशा लिइएकाे छ । प्रदेश १ का विराटनगर, इटहरी, धरान, दमक, बिर्तामोडलगायतका क्षेत्रमा २५०० वटाभन्दा बढी क्युआर कोड वितरण गर्ने तयारी गरिरहेको छ।
हाल बैंकले देशभर रहेको आफ्नो ३ सय ५९ शाखा कार्यालय, ४ सय ७३ एटीएम, १ सय २ वटा विस्तारित काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ।