काठमाडौं । नाडा अटोमाबाइल्स एसोसिएसन अफ नेपाल र चितवन अटोमोबाइल्स एसोसिएसनको सहकार्यमा भरतपुर चितवनमा कर, भन्सार तथा भिसिटियससम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रमका प्रमुख अतिथि तथा नाडाका अध्यक्ष धु्रवबहादुर थापाले आर्थिक वर्ष २०७९÷८० को बजेटले सवारीसाधनको महसुलमा गरेको परिवर्तनले व्यवसायीहरुमा थप अन्यौलता आएको बताए । उनले भने, ‘देशमा विद्यमान तरलता अभावले व्यवसायीहरुले आफनो व्यवसाय सञ्चालन गर्न कठिन हुँदै गएको छ ।
अध्यक्ष थापाले विश्वमा विद्युतीय सवारीसाधनको प्रयोग अपरिहार्य भएकाले यसलाई व्यवस्थित गर्न सरकारले आवश्यक नीति नियमहरुको तर्जुमा गरी थप रोजगारी सिर्जना गर्नुपर्ने बताए ।
‘व्यवसायमैत्री नीति–नियम ल्याउन सरकारलाई नाडाले दबाब दिँदै आएको र स्वच्छ व्यवसायका लागि समेत नाडाले आवाज उठाउँदै आएको छ’, उनले भने ।
सो कार्यक्रममा आन्तरिक राजस्व कार्यालय, भरतपुरका प्रमुख घनश्याम पन्थी, वीरगन्ज भन्सार कार्यालयका निर्देशक हरिहर पौडेल, राजस्व अनुसन्धान विभागका कम्प्युटर अधिकृत पवन बस्नेत तथा चार्टड एकाउन्टेन निकेट अग्रवालले आ—आफनो विषयमा केन्द्रित रही प्रशिक्षण दिएका थिए ।
उक्त प्रशिक्षण कार्यक्रममा नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेती, कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्यसमिति सदस्यद्वय अनुप बराल, निलमणि पाठक, प्रकाश कपुरी तथा सोहन श्रेष्ठसमेतको उपस्थिति रहेको थियो ।
यसअघि नाडाले लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपाल, प्रदेश ४ को सहकार्यमा सोही प्रकारको प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको थियो ।
नाडाले यही असार मसान्तसम्म ७ वटै प्रदेशमा यस्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने बताएको छ ।