काठमाडौं । नेपाल नागरिक उड्डडयन प्राधिकरणले मंगलबारबाट तोकिएको बेसबाट उडान गर्न दिएको निर्देशन वायुसेवा सञ्चालकहरुले नमान्ने भएका छन् । सोमबार बसेको वायुसेवा सञ्चालक संघको बैंठकले बाहिरी विमानस्थलहरुमा आवश्यक पूर्वधार निर्माण नभइसकेको अवस्थामा रात्रिकालीन बास राख्न सम्भव नभएकाले तत्कालका लागि काठमाडौं नछोड्ने निर्णय गरेका हुन् ।
संघका एक पदाधिकारीका अनुसार प्राधिकरणमा महानिर्देशक (डीजी) प्रदीप अधिकारीसँग तत्कालीन अवस्थामा जहाजहरुलाई बेसबाट उडान गर्न सम्भव नभएको भन्दै काठमाडौं विमानस्थलबाटै उडान गर्ने वातावरण मिलाइदिन अनुरोध गर्ने निर्णय भएको छ । जसअनुसार संघका प्रतिनिधिहरु र महानिर्देशक अधिकारीबीच मध्यान १२ बजे दुई पक्षीय छलफल हुँदैछ ।
प्राधिकरणका महानिर्देशकसँग वार्ता नमिले पनि तत्कालै काठमाडौं नछोड्ने अडानमा वायुसेवा सञ्चालकहरु पुगेका छन् । आफूहरुलाई तत्कालको तत्कालै निर्देशन जारी गरेर कुनै तयारी नै गर्न नपाएको भन्दै महादिर्नेशकसँग वार्ता गर्न लागिएको ती सञ्चालकको भनाइ छ । पुराना कम्पनीहरुलाई काठमाडौं बाहिर पठाउने र नयाँलाई काठमाडौं राख्ने जस्तो नीति देखिएको भन्दै प्राधिकरणसँग असन्तुष्टि जनाएका छन् ।
प्राधिकरणको निर्देशनअनुसार २० वटा हेलिकप्टरहरुले मंगलबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राख्न पाउँदैनन् । बुधबार बिहानको पहिलो उडान पनि उनीहरुले सो विमानस्थलबाट गर्न पाउँदैनन् । प्राधिकरणको निर्देशनअनुसार सञ्चालनमा रहेको ११ वटा हेलिकप्टर कम्पनीको उडानयोग्य ३० वटा जहाजमध्ये २० वटा हेलिकप्टरहरु उपत्यका बाहिरको विमानस्थलमा रात्रिकालीन बासका लागि जानुपर्ने छ ।
जसमा प्रभु हेलिकप्टरको ६ वटै जहाज पोखराबाट र सिम्रिकको ५ वटै जहाजले नेपालगन्जबाट उडान गर्नुपर्ने हुन्छ । त्यस्तै श्री एयरलाइन्सको ८ वटामध्ये ५ , एयर डाइनेष्टीको ५ मध्ये ३, फिस्टेलको ३ मध्ये १ वटा हेलिकप्टर रात्रिकालीन बासका लागि उपत्यका बाहिर जानुपर्ने हुन्छ । योसँगै अल्टीच्यूड, हेलिएभरेष्ट, मना, माउन्टेन, कैलाश र मस्ताङ हेलिकप्टर कम्पनीले भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै उडान गर्ने गरी बेस तोकिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो एयर ट्राफिक जामलाई कन्ट्रोल गर्नका लागि प्राधिकरणले एयरलाइन्सलाई पनि तोकिएको बेसमा जानका लागि निर्देशन जारी गरेको छ । एयरलाइन्सहरुले भने १३ गतेदेखि तोकिएको आधारबाट विमानस्थलमा रात्री विसान गरी पहिलो उडान सोही विमानस्थलबाट गर्नुपर्ने हुन्छ ।
यसरी प्राधिकरणको निर्देशनअनुसार उपत्यका बाहिरबाट उडान गर्दा सबैभन्दा बढी बुद्ध एयरले ९ वटा जहाजमार्फत उडान गर्नुपर्ने हुन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले ९ वटा एयरलाइन्स कम्पनीको ५२ वटा जहाज उडानयोग्य रहेकोमा ३५ वटा उपत्यका बाहिरबाट उडान गर्ने गरी अनुमति लिएको बताए । त्यस्तै काठमाडौं बेस भएर उडान गर्ने जहाज भने १७ वटा मात्र रहेको उनले बताए ।
विमानस्थलले दिएको जानकारीअनुसार काठमाडौं बाहिर बुद्धले ९, श्रीले ६, यतीले ३, सौर्यले २, समिटले ३ ,ताराले २, सीताले ३, गुणले ५ र नेपाल वायुसेवा निगमले २ वटा जहाज रात्रिकालीन बासका लागि उपत्यका बाहिरका विमानस्थलमा जानुपर्ने छ । ती एयरलाइन्सहरुले चन्द्रगढी, विराटनगर, जनकपुर, भरतपुर, भैरहवा, पोखरा, सिमरा, नेपालगन्ज, धनगढी र रामेछापका लागि बेस तोकेका छन् ।