काठमाडौं । वीरगञ्जका चर्चित व्यवसायीहरु मिलेर पर्साकै ठूलो चारतारे होटल र क्यूएफएस सिनेमा हलसहितको बहुउद्धेशिय व्यापारिक निर्माण भइरहेको छ ।
कलश सिमेन्टका सञ्चालक अनिल पटवरी, जगदम्बा स्टिलका सञ्चालक राजेश अग्रवाल र अम्बे सिमेन्टका सञ्चालक सजन भंगरलगायत १० जना व्यवसायीको संयुक्त लगानीमा स्काइलाइन इन्फ्रा प्राइभेट लिमिटेडमार्फत सो व्यापारिक भवन निर्माण भइरहेको हो ।
सो व्यवसायिक वहुउद्धेशिय मलको काम आउदो ३ महिनामा सक्ने लक्ष्य छ । नेपाल–भारत सीमाना रक्सौलबाट ४ किलोमिटर दुरी वीरगञ्जमा निर्माण भइरहेको सो व्यवसायिक भवन आगामी सेप्टेम्बरसम्म सम्पन्न हुने बताइएको छ ।
व्यवसायिक भवन बनाउन १ अर्ब ६० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसअनुसार ८० प्रतिशत बैंकको ऋण र बाँकी २० प्रतिशत संस्थापकहरुले स्वपुँजी (इक्विटी) लगानी गरेका छन् । प्रस्ताव गरिएको मध्ये ९० प्रतिशत रकम खर्च भइसकेको छ ।
बैंकिङ प्रणालीमा तरलता संकटले गर्दा व्यवसायिक भवन निर्माणको काम समय सीमाभित्र सक्ने योजनालाई प्रभावित पारेको छ । सन् २०२० को डिसेम्बरमा सञ्चालनमा ल्याउने योजना रहेकोमा मल कोरोना महामारीले २ वर्ष पछि धकेलिएको छ ।
स्काइ इन्फ्राले १ अर्ब २७ करोड ८९ लाख रुपैयाँ ऋणको रेटिङ गरेको छ । इक्रा नेपाल लिमिटेडले इक्राएनपी ए फोर रेटिङ दिएको छ ।
सन् २०१६ मा स्थापना भएको स्काइलाइन इन्फ्राले क्यूएफएक्स सिनेमा हलका साथै ४८ कोठाको होटल रहने प्रस्ताव गरेको छ ।
यस्तै मलमा रेष्टुरेण्ट, पसल, गेमिङ जोन र बैंकेट हल रहने छ । स्विमिङ पुल, स्पाका साथै ब्राण्डेड खुद्रा पसलहरु सञ्चालन हुने छ । होटल सरोबर प्रोटिको ब्राण्डमा सञ्चालन हुने भएको छ । यो भारतको प्रसिद्ध होटल चेन हो । उसले भारतमा सरोबर होटल सञ्चालन गरिरहेको छ ।
बारा र पर्सा ‘कर्पोरेट हब’ भएकाले यसबाट होटलले लाभ लिन सक्ने देखिएको छ । भारतीय चेन सरोबरले व्यवस्थापन जिम्मेबारी लिने भएकाले भारतीय पर्यटक आउने अपेक्षा होटलको छ । मल १५३७ मिटर वर्गमिटरमा फैलिएको छ ।