काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)को निर्देशनअनुसार हेलिकप्टर कम्पनीहरुले भोलि(असार ७)गतेबाट तोकिएको बेसबाट पहिलो उडान गर्नुपर्ने छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो एयर ट्राफिक जामलाई कन्ट्रोल गर्नका लागि प्राधिकरणले एयरलाइन्स र हेलिकप्टर कम्पनीहरुलाई तोकिएकै बेसबाट उडान गर्न निर्देशन जारी गरेको हो ।
निर्देशनअनुसार १३ गतेदेखि हवाई जहाज कम्पनीहरुले तोकेकै बेसबाट उडान गर्न निर्देशन जारी गरे पनि कम्पनीहरुले भने आनाकानी गर्दै आएका छन् । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्दै आएका एयरलाइन्स र हेलिकप्टर कम्पनीहरुले जहाज थप्दा र कम्पनी खडा गर्दानै उपत्यका बाहिरका विमानस्थलबाट सञ्चालन गर्ने निश्चित गरिएकाले त्यहीअनुसार निर्देशन जारी गरिएको प्रवक्ता जगनाथ निरौलाले जानकारी दिए ।
प्राधिकरणले हवाईजहाज सञ्चालक कम्पनीहरुले तोकिएको आधारबाट विमानस्थलमा रात्री विसान गरी पहिलो उडान सोही विमानस्थलबाट गर्नुपर्ने हुन्छ । यसरी प्राधिकरणको निर्देशन अनुसार उपत्यका बाहिरबाट उडान गर्दा सबैभन्दा बढी बुद्ध एयरले ९ वटा जहाजमार्फत उडान गर्नुपर्ने हुन्छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले ९ वटा एयरलाइन्स कम्पनीको ५२ वटा जहाज उडान योग्य रहेकोमा ३५ वटा उपत्यका बाहिरबाट उडान गर्ने गरी अनुमति लिएको बताए । त्यस्तै काठमाडौं बेस भएर उडान गर्ने जहाज भने १७ वटा मात्र रहेको उनले बताए ।
विमानस्थलले दिएको जानकारी अनुसार काठमाडौं बाहिर बुद्धले ९, श्रीले ६, यतीले ३, सौर्यले २, समिटले ३, ताराले २, सीताले ३, गुणले ५ र नेपाल वायुसेवा निगमले २ वटा जहाज रात्रिकालीन बासका लागि उपत्यका बाहिरका विमानस्थलमा जानुपर्ने छ । ती एयरलाइन्सहरुले चन्द्रगढी, विराटनगर, जकपुर, भरतपर, भैरहवा, पोखरा, सिमरा, नेपालगन्ज, धनगडी र रामेछापका लागि बेस तोकेका छन् ।
योसँगै हाल सञ्चालनमा रहेको ११ वटा हेलिकप्टर कम्पनीको उडान योग्य ३० वटा जहाजमध्ये २० वटा हेलिकप्टरहरु उपत्यका बाहिरको विमानस्थलमा रात्रिकालीन बासका लागि जानुपर्ने छ । प्राधिकरणको निर्देशन अनुसार सबैभन्दा बढी प्रभु हेलिकप्टरको ६ वटै जहाज पोखराबाट र सिम्रिकको ५ वटै जहाजले नेपालगन्जबाट उडान गर्नुपर्ने हुन्छ ।
त्यस्तै श्री एयरलाइन्सको ८ वटामध्ये ५, एयरडाइनेष्टीको ५ मध्ये ३, फिस्टेलको ३ मध्ये १ वटा हेलिकप्टर रात्रिकालीन बासका लागि उपत्यका बाहिर जानुपर्ने हुन्छ ।
योसँगै अल्टीच्यूड, हेलिएभरेष्ट, मनाङ, माउन्टेन, कैलाश र मस्ताङ हेलिकप्टर कम्पनीले भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै उडान गर्ने गरि बेस तोकिएको छ ।
वायुसेवा सञ्चालक संघको बैठक बस्दै
प्राधिकरणको निर्देशनपछि आफ्नो आधिकारिक धारणा बनाउनका लागि वायुसेवा सञ्चालक संघको आकस्मिक बैंठक बस्ने तयारी भइरहेको छ । संघका उपाध्यक्ष निमानुरु शेर्पाका अनुसार ३ बजे बैंठक बस्ने छ । बैंठकले प्राधिकरणले जारी गरेको निर्देशन मान्ने वा नमान्ने विषयमा निर्णय हुनेछ ।
यसअघि पनि प्राधिकरणले दिएको निर्देशन नमान्ने घोषणा संघले गरेको थियो । प्राधिकरणले हेलिकप्टरमा २ वटा पाइलट अनिवार्य राख्नुपर्ने निर्णय अव्यावहारिक भएको भन्दै निर्णय नमान्ने घोषणा गरेका थिए ।