काठमाडौं । २०७८ भदौ २ गतेको ३१९९ बाट झरेर ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६ वर्ष अघिको उच्च विन्दू (१८८१.४५) अंकलाई छाडेर तल झरेको छ । हरेक वियरिस ट्रेन्ड समात्दा नेपालको सेयर बजारले यस अघिको उच्च विन्दूलाई छाडेपछि मात्रै माथि उक्लिने गरेको इतिहास छ । यद्यपि, परिस्थिति फेरिएको हुन्छ तर बजारिक चक्र भने रहिरन्छ ।
अघिल्लो ट्रेन्डसँग पछिल्लो ट्रेन्ड तयार गर्दाका अवयवहरु फरक भए पनि बजार सूचक नियमित निरन्तरता जस्तै देखिने गरेको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिले सेयर बजार र वित्तीय क्षेत्रलाई कडाई गर्ने नीति राखेसँगै १० महिनाको अवधिमा सूचक १३२० अंकले घटेको छ ।
परिस्थिति र वित्तीय क्षेत्रको तरल स्थिति, अन्तर्राष्ट्रि बजारमा पेट्रोलियम पदार्थको उच्च मूल्य वृद्धिका कारण आर्थिक मन्दीको आंशका, नेपालको अर्थतन्त्र आयातमै निर्भर आगामी आर्थिक वर्षको बजेटले कर्मचारीको तलबवृद्धि तथा कतिपय वस्तु तथा सेवामा कर वृद्धि, भरखरै सम्पन्न स्थानीय तहको निर्वाचन र आगामी मंसिरमा आम निर्वाचन हुने जस्ता कारणले बजार केही समय शिथिल नै रहने छ ।
अझ बन्दै गरेको मौद्रिक नीतिलाई दबाब सिर्जना गर्नलाई पनि बजार घटाउने प्रयास निरन्तर हुने छ । सेयर बजार सुधारको माग गर्दै आमरण अनसन बसिरहेका छन् । उनीहरुले सेयर धितो कर्जाको सीमा र कर्जा निक्षेप अनुपात हटाउनुपर्ने दबाब दिइरहेका छन् । त्यसलाई सहयोग गर्ने गरी बजार सूचक निरन्तर झारिएको छ । तर, यो तहमा झरिसकेको बजारले एक पटक कम्तिमा ३०० अंकको वृद्धि लिएर तल झरेको खण्डमा भने बजारले १७०० बिन्दू पच्छ्याउन सक्छ ।
विगतमा ६५÷७० रुपैयाँ प्रतिकित्तमा किनबेच भएका सेयर पनि अहिले २०० भन्दा माथि नै छन् । एकाध कम्पनीको सेयर मूल्य मात्रै विगतमा ११०० बिन्दू पुग्दाताकाको स्थितिमा छन् । यद्यपि बजार १८८१ बाट बजार माथि लागिसकेकाे छ ।