काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सूचना जारी गर्दै हेलिकप्टर कम्पनीहरुलाई दुई जना पाईलट राख्न निर्देशन दिएको छ । यस अघि पनि प्राधिकरणले हेलिकप्टरमा दुई जना पाईलट राख्न र सम्बन्धीत आधारबाटै जहाच चलाउन निर्देशन जारी गरिसकेको थियो ।
प्राधिकरणले जारी गरेको निर्देशन मध्ये हेलिकप्टरमा दुई जना पाईलट राख्ने निर्णय अव्यवहारीक भएको भन्दै वायुसेवा सञ्चालक संघले विज्ञप्ती जारी गरेर विरोध गरिसकेको छ ।
प्राधिकरणले जारी गरेको सूचनामा हेलिकप्टरको प्रत्येक उडान पूर्व प्रयोग गर्नेगरी उडान सुरक्षा जोखिम मूल्यांकन र जोखिम न्यूनिकरणको लागि एक स्वचालित विद्युतिय प्रणाली संचालनमा ल्याउनु पर्ने,हेलिकप्टर उडान सुरक्षालाई सवलीकरण गर्न मौसमी अवस्था,अडान अवधि,हेलिकप्टर पाईलटको अनुभव,भौगोलिक अवस्था तथा अन्य अवस्थालाई समेत मध्यनजर गरी ती प्रणालीबाट हरेक उडानको सुरक्षा सवलीकरणको व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जारी गरेको विज्ञप्तीमा स्वचालित प्रणालीले तोके बमोजिम २ जना हेलिकप्टर पाईलट राख्नुपर्ने व्यवस्था समेत कम्पनीले गर्नुपर्ने उल्लेख गरिएको छ । सरकारले तोकेको विशिष्ट व्यक्तिको उडानमा २ जना पाईलट अनिवार्य रहनुपर्ने व्यवस्था समेत बताइएको छ ।
यस्तै नेपालमै पाईलट उत्पादन गर्ने आत्मनिर्भरता सहितको उड्डयन सुरक्षा सुद्धृढिकरण गर्न प्रत्येक हेलिकप्टर कम्पनीले प्राधिकरणको मिति २०७९ असार ५ गतेको निर्णयदेखि बढिमा ३ वर्षभित्र पाईलट तयार पार्नका लागि कम्पनीले पेश गरी प्राधिकरणले स्वीकृत गरेको संख्या बमोजिम पाईलट पदपूर्तिको व्यवस्था अनिवार्य रुपमा मिलाउन भनिएको छ ।
हवाईजहाज संचालक कम्पनीहरुले असार १३ गतेदेखि तोकिएको आधारबाट विमानस्थलमा रात्री विसान गरी पहिलो उडान सोही विमानस्थलबाट गर्ने र हेलिकप्टर कम्पनीहररुले असार ७ गतेदेखि तोकिएको आधारबाट विमानस्थलमा रात्री विसान गरी पहिलो उडान सोही विमानस्थलबाट गर्न निर्देशन जारी भएको छ ।
हुन त यो प्राधिकरणले दिएको निर्देशन यो भने पहिलो हैन । यस अघि पनि पटक पटक यस्ता निर्देशनहरु दिएपनि विभिन्न बाहनामा वायुसेवा कम्पनीहरुले अटेर गर्दै आएको छ । तोकिएको आधारमा भौतिक संरचनादेखि यात्रुको अभाव हुने भएकोले पनि सबैको रोजाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनै पर्ने गरेको एक वायुसेवा कम्पनीका सञ्चालकले बताए । यात्रुहरु पाउने सुनिश्चितता भए निर्देशन कार्यन्वयनका लागि आफुहरु तयार रहेको उनको भनाई छ ।