काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक आइतबार ३७.२७ अंकले घटेको छ । यससँगै सूचक १९३४.११ बिन्दुमा आएको छ ।
यस दिन १ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सरकार र नियामकले कान थुनेर बस्दा आमलगानीकर्ता थप पेनिक भएका छन् । उनीहरुको आत्मबल गिर्दा सेयर बजार घट्ने क्रमले आइतबार पनि निरन्तरता पाएको छ । निरन्तर घटेको बजार अहिले १९ सय बिन्दुकै आसपासमा आउन लागिसकेको छ ।
दिनहुँ बजार घटेपछि बैंकहरुले मार्जिन कल गरेर लगानीकर्तालाई त्रसित बनाइरहेका छन् । यता, आमलगानीकर्ता भने सावाँ र ब्याज तिर्ने अनि घटेको मूल्य बराबरको मार्जिन पनि राख्नुपर्ने दोहोरो मारमा परेका छन् । सेयर बजारविरोधी नीति ल्याएर घटाइएको बजार अब थामिन नसक्ने अवस्थामा पुगेको छ ।
तत्काल बजारविरोधी नीति नसच्याउने हो भने आमलगानीकर्ताहरू थप पीडित र पेनिक हुने अवस्थामा पुग्ने देखिएको छ । यस्तो विकराल अवस्था उत्पन्न भइसक्दा पनि सरकार र नियामक निकायहरु धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंक चुपचाप बसेका छन् । यता, बजार सुधारको माग राखेर विगत ५ दिनदेखि लगानीकर्ता तिलक कोइराला आमरण अनसनमा बसिरहेका छन् ।
उनको मागका सम्बन्धमा अहिलेसम्म कुनै पनि सुनुवाइ हुन सकेको छैन । आमरण अनसनमा बसेका कोइरालाको स्वास्थ्य अवस्था थप नाजुक बन्दै गएको छ । यस्तो जटिल अवस्था उत्पन्न भइसक्दा पनि सिंगो सरकार, अर्थ मन्त्रालय र सरोकारवाला निकायहरुले सुधारका लागि कुनै पहल नगर्नुले अझै आशंका र आक्रोश बढाएको लगानीकर्ताहरुले बताएका छन् ।
लगानीकर्ताको खर्बाैं रुपैयाँ स्वाहा भइसकेको छ । आमरण अनसनमा बसेका व्यक्तिको स्वाथ्य अवस्था थप जटिल बन्दै गएको छ । दैनिक हजारौं लगानीकर्ता सडकमा नारा घन्काइरहेका छन् । तर, पनि सरकार र नियामक निकाय भने सुनेको नसुन्यै गरिरहेको छ । यसले के यो देशमा पनि सरकार र नियामक छन् त ? भन्ने प्रश्न खडा गरेको छ । सबै खरानी भएपछि तातिनुको पनि कुनै अर्थ नहुने लगानीकर्ताहरु बताइरहेका छन् ।
सेयर बजार झन्डै ४० प्रतिशतले घटिसकेको छ । कतिपय कम्पनीको भाउ त ७० प्रतिशतसम्म पनि ह्रास आइसकेको छ । पुँजीबजारविरोधी नीतिका कारण विगत १० महिनादेखि सेयर बजार मारमा परेको हो । नीतिमै चलाएर बजार घटाइएकाले अब बजार सुधार्न पनि सोही नीतिमै सुधार गर्नुपर्ने आम लगानीकर्ताहरुले माग गरिरहेका छन् । यी समस्याहरुका बाबजुत आमलगानीकर्ताहरु पनि सचेत र धैर्यवान् हुन आवश्यक छ ।
घटेको बजार फेरि बढ्छ भन्ने आत्मविश्वास हुनुपर्छ । सस्तो मूल्यमा सबल वित्तीय सूचक भएका कम्पनीहरु खरिद गर्न सकिने अवस्था छ । लगानीकर्ताले रिस्क–रिवार्ड रेसियोलाई ख्याल गर्दै सकेसम्म दीर्घकालीन अवधिका लागि होल्ड गर्न सक्ने हो भने कुनै दिन बजारबाट मनग्ये लाभ लिन सकिने अनुभवीहरु बताउँछन् ।