काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) का राजकुमार भनिएका जुमा अल मोक्तुमले दुबईबाटै सुनौलो रङको लाैराे ल्याएको खुलेको छ ।
अन्तर्राष्ट्रिय विमानस्थल भन्सार प्रमुख महेश भट्टराईले राजकुमार भनिएका व्यक्तिले ल्याएको सुनौलो रङको लौरो भन्सार रेकर्डमा नदेखिएको बताएका बेला झापा पुगेका मोक्तुमले दुबईबाटै ल्याएको बताएका छन् ।
उनले विमानस्थलबाट कसरी उक्त लौरो नेपालतिर ल्याए भन्नेमा सरकारी अधिकारीहरू अनभिज्ञ छन् । मोक्तुमले दुबईबाट ल्याएको सुनौलो करलको लोरौ व्यवसायी दुर्गा प्रसाईंलाई झापामा उपहारका रूपमा हस्तान्तरण गरेका थिए ।
झापाको भद्रपुर विमानस्थलमा ओर्लिनेबित्तिकै मोक्तुमले लौरा प्रसाईंलाई दिएका थिए । दुर्गाले उक्त फोटो सार्वजनिक गरेपछि त्यो लौरो कसरी भन्सारबाट छिर्यो भन्ने सर्वत्र चासो भइरहेको छ ।
भन्सार प्रमुख भट्टराईका अनुसार कुनै पनि विदेशी यात्रुले नेपाल आउँदा सुन ल्याउन पाउँदैनन । नेपाली यात्रुको हकमा १०० ग्राम सुन र २५० ग्रामसम्म सुनका गहना ल्याउन पाउँछन् । ५० ग्राम छुट र त्योभन्दा माथिको २०० ग्रामसम्म राजस्व छुट पाउने कानुनी व्यवस्था छ ।
उनका अनुसार विदेशी यात्रुले काँचो सुन ल्याउँनै पाउँदैनन् । सुनका गहना ५० ग्रामसम्म ल्याउन पाउने कानुनी व्यवस्था छ ।
परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता रिता धितालले राजकुमार भनिएका व्यक्तिकाे औपचारिक भ्रमण नभएको बताएकी छिन् ।
तैपनि उनी भीभीआई प्रवेशबाट नेपाल भित्रिएका हुन् । उनको भ्रमण आधिकारिक नभएको बताइएको छ ।
भन्सार प्रमुख भट्टराईले उनले ल्याएको सबै सामान चेकजाँच गरिएको र त्यहाँ लौरो नभएको बताएका छन् । तर, मोक्तुमले झापामा दुबईबाटै ल्याएको भनेपछि भन्सार अधिकारी र उनको कुरा बाझिएको छ ।