काठमाडौं । धितोपत्र बजारमा वास्तविक क्षेत्रका ठूला कम्पनी भित्र्याउन बाटो खुलेको छ । सरकाले १ अर्ब बढी चुक्ता पुँजी भएका र ५ अर्ब रुपैयाँ कारोबार गर्ने उत्पादनमूलक उद्योगहरुलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गरी नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुनुपर्ने व्यवस्था गरेसँगै वास्तविक क्षेत्रका ठूला कम्पनीलाई सेयर बजारमा आउन बाटो खुलेको हो ।
आगामी वर्ष ०७९/८० को बजेटमा १ अर्ब पुँजी वा सोभन्दा बढी चुक्ता पुँजी वा ५ अर्ब रुपैयाँ बढीको कारोबार गर्ने प्राकृतिक स्रोत उपयोग, पब्लिक कम्पनी तथा राज्यबाट अनुदान, सहुलियत वा कर छुट प्राप्त गर्ने कम्पनीलाई आईपीओ निष्कासन गरी नेप्सेमा सूचीकृत हुुनुपर्ने व्यवस्था गरिने उल्लेख छ ।
बजेटमा सो कुरा उल्लेख भएसँगै ५ अर्ब रुपैयाँ कारोबार गर्ने करिब ५ दर्जन ठूला कम्पनी र १ अर्ब रुपैयाँ चुक्ता पुँजी भएका एक दर्जन कम्पनी सेयर बजारमा आउने निश्चित भएको छ ।
२०७४ देखि २०७९ जेठ २३ गतेसम्म १२० कम्पनीले स्वामित्व परिवर्तन गरी प्राइभेटबाट पब्लिक लिमिटेडमा रुपान्तरण भएका छन् ।
कम्पनी लिमिटेडमा रुपान्तरण हुनेमा मोबाइल सेवाप्रदायक, सिमेन्ट, स्टिल, वायुसेवा, अस्पताल, खानी, मिडिया हाउस, इक्विटी फन्ड, औषधिलगायत ठूला कम्पनी छन् ।
अधिकांश कम्पनीले आईपीओ निष्कासन गर्न कम्पनी रजिस्ट्रारको कार्यालयबाट स्वामित्व परिवर्तन गरिसकेका छन । ती कम्पनी लिमिटेडमा रुपान्तरण भए पनि आईपीओ निष्कासनको तयारी गरेका छैनन् ।
पाँच वर्षयता पब्लिकमा स्वामित्व परिवर्तन गर्ने करिब एक दर्जन बढी कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ बढी रहेको छ । १ अर्ब रुपैयाँ बढी चुक्ता पुँजी भएका १२ कम्पनीमध्येका २ हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन नेप्सेमा सूचीकृत भइसकेका छ ।
सिंगटी हाइड्रो इनर्जी र ग्रीन भेन्चर्स लिमिटेडले आईपीओ जारी गरिसकेका छन् । यद्यपि जलविद्युत कम्पनीलाई आईपीओ निष्कासन गर्ने बाध्यकारी व्यवस्था छ । अहिले सञ्चालनमा आएका सबै जलविद्युत कम्पनीहरुले धमाधम आईपीओ निष्कासन गरिरहेका छन् ।अन्य १० कम्पनीले भने आईपीओ जारी गर्न बाँकी नै छ ।
१ अर्ब रुपैयाँ बढी चुक्ता भई आईपीओ निष्कासन गर्न बाँकी १० कम्पनी मोदी इनर्जी, सिउरी खोला जलविद्युत आयोजना, पिपुल्स हाइड्रोपावर कम्पनी, सर्वोत्तम सिमेन्ट, बेनी हाइड्रोपावर, साङगढ हाइड्रो, सोनापुर मिनिरल, घोराही सिमेन्ट, जगदम्बा स्पेनिङ, गैरीशंकर पावर डेभलपमेन्ट कम्पनी रहेका छन् ।
पाँच वर्षमा स्वामित्व परिवर्तन गर्ने १२० कम्पनीमध्ये करिब एक दर्जन कम्पनीले आईपीओ निष्कासन गरी सेयर बजारमा सूचीकृत भइसकेका छन् । पछिल्लो पाँच वर्षमा स्वामित्व परिवर्तन गरेका अधिकांश हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गरेका छन् ।
त्यस्तै, वार्षिक ५ अर्ब रुपैयाँ कारोबार गर्ने पाँच दर्जन बढी कम्पनी रहेको छन् । ५ अर्ब कारोबार गर्ने कम्पनीले अनिवार्य रुपमा आईपीओ जारी गर्नुपर्ने भएसँगै यी कम्पनी सेयर बजारमा भित्रिनुपर्ने भएको हो ।
५ अर्ब रुपैयाँ कारोबार गर्ने पब्लिक कम्पनीको रुपमा एनसेल आजियाटा, नेपाल विद्युत प्राधिकरण, भाटभटेनी सुपरमार्केट लगायत अधिकांश सिमेन्ट र डण्डी उत्पादन गर्ने कम्पनी रहेका छन् । विद्युत प्राधिकरणले आईपीओ निष्कासन गर्न इक्रा नेपालबाट रेटिङ गराइसकेको छ ।
ठूला कम्पनीहरुको धितोपत्र बजारमा प्रवेश भएपछि यस क्षेत्रले गति लिने अपेक्षा गरिएको छ । अहिले बैंक तथा वित्तीय क्षेत्र, बिमा र जलविद्युत कम्पनीहरुलाई मात्र आईपीओ निष्कासन गर्न वाध्यकारी व्यवस्था गरिएको छ ।
यसअघि शिवम् सिमेन्ट, नेपाल टेलिकमलगायतका कम्पनीले प्रिमियममार्फत आईपीओ निष्कासन गरेका थिए । हाल धितोपत्र बोर्डले उत्पादनशील क्षेत्रका कम्पनीलाई सेयर बजारमा भित्राउन बुक बिल्डिङ विधि ल्याइसकेको छ । ठूला उद्योगलाई यो विधिले पुँजी बजारमा आउने आकर्षित गर्नेे स्पष्ट हुन्छ ।
बुक बिल्डिङमार्फत आईपीओ निष्कासन गर्न सर्वोत्तम सिमेन्ट लिमिटेडले प्रक्रिया अघि बढाइरहेको छ । सेयरको स्वतन्त्र मूल्य निर्धारण गर्ने संयन्त्र ‘फ्री प्राइसिङ मेकानिजम’ नेपालमा नहुँदा लामो समयदेखि वास्तविक क्षेत्र सेयर बजारमा आउन नचाहेको बोर्डका प्रवक्ता रुपेश केसी बताउँछन। केसीका अनुसार उत्पादनमूलक क्षेत्रलाई सेयर बजारमा भित्राउन बुक बिल्डिङ मेकानिजम विकास गरिएको हो ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार नेपालमा पनि उत्पादनमूलक क्षेत्रलाई सेयर बजारमा भित्राउन बुक बिल्डिङ अवलम्बन गरिएको केसीले बताए । ‘रियल सेक्टरका कम्पनी अंकित मूल्यमा आईपीओ ल्याउन नचाहेको पाइयो’उनले भने’, ‘आईपीओको मूल्य कति हो भनेर नियामकले तोक्ने होइन । यसलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार बुक बिल्डिङ विधिबाट बजारलाई नै छोडिदिएपछि फ्री प्राइसिङको मेकानिजम आधारमा रियल सेक्टरका कम्पनी सेयर बजारमा भित्राउने योजना छ ।’
रियल सेक्टरलाई सेयरबजारमा भित्राउने बुक बिल्डिङ एउटा उपर्युत विधि भएको र अन्य यस्तै केही हुन सक्छन कि भनी अध्ययन गरेर बोर्डले आफ्नो नीति कार्यक्रममार्फत ल्याउने उनले बताए ।
यता बोर्डले ठूला सार्वजनिक संस्थानहरुलाई पनि धितोपत्र बजारमा ल्याउने योजना सार्वजनिक गरेको छ । बोर्डले पहिलो चरणमा काठमाडौं उपत्यका खानेपान लिमिटेड (केयूकेएल) र विद्युत प्राधिकरणलाई धितोपत्र बजारमा ल्याउन जानकारी गराइसकेको छ ।
सीई कन्सट्रक्सन कम्पनीका अध्यक्ष विजयराज भण्डारी आफ्ना कम्पनीहरुलाई पनि धितोपत्र बजारमा ल्याउने बताएका छन् । उनले सरकारले सेयर बजारमा आउनुपर्ने प्रावधान बनाएकाले सीईले छिट्टै आईपीओमा जानका लागि तयारी थाल्ने राजभण्डारीले सुनाए ।
नेप्सेमा २२९ कम्पनी सूचीकृत
नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २२९ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४४ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी रहेका छन् । ४८ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६७.४ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा १०.५ प्रतिशत, लगानी कम्पनीको ७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४ प्रतिशत, होटेलको हिस्सा १.५ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.१ प्रतिशत रहेको छ ।