काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) का राजकुमार जुमा अल मोक्तुम शनिबार आएपछि उनको स्वागतमा व्यवसायी दुर्गा प्रसाईं पुगे । प्रसाईंकै व्यक्तिगत निमन्त्रणामा नेपाल आएका राजकुमार काठमाडौंबाट सिधैं झापा पुगेका छन् ।
प्रसाईं र राजकुमारसँगैं रहेको एउटा तस्विरमा सुनौलो रंगको लौरो समातेको देखिन्छ । प्रसाईंनिकट एक युवा व्यवसायीले सो लौरो सुनको भएको र सुनको लौरो राजकुमारले दुर्गा प्रसाईंलाई उपहार दिएको बताए । तर, दुबईबाट नेपाल आएका राजकुमारले नेपालमा कसरी सो सुनको लौरो भित्राए भन्ने बहस सुरु भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले भन्सारमा सबै चेकजाँच गर्दा सो लौरो नदेखिएको जानकारी दिएको छ । कुटनीतिक प्रोटोकल प्रयोग गरेर चेकजाँच गर्दा सो लौरो नभेटिएको कार्यालय जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख महेश भट्टराईंले राजकुमारले ल्याएको भनिएको लौरो कहाँबाट आयो, कसरी आयो भन्सार कार्यालयलाई थाहा नभएको बताए ।
‘राजकुमारले ल्याएको सुनियो तर विमानस्थलको सबै लगेज चेक गर्दा त्यस्तो केही देखिएको छैन । हाम्रो पुरै सिष्टममा नै त्यो लौरो देखिएको छैन, त्यो सुन हो या सुनको जलप लगाइएको हो त्यो लिनेदिनेलाई थाहा होला, अर्को कुरा कुनै विदेशीले सुनकै उपहार दिंदा नेपालको कानुन थाहा पाएर नै दिन्छ’ भट्टराईले भने ।
‘त्यसरी ल्याउन पाइदैंन भन्ने त पक्कै राजकुमारलाई थाहा छ, यहि नेपालमै बनेको हो या यहि जलप लगाइएको हो भन्ने कसैले वाच नै गरेको छैन, त्यो पनि हुन सक्छ । लौरोको डिजाइन हेर्दा पनि अरब देशमा बनेर आएजस्तो मलाई लाग्दैन’ उनले भने ।
कुटनीतिक तवरको भ्रमण भए पनि हामीले पुरै सिष्टममार्फत चेक गर्दा पनि त्यो लौरो नदेखिएको उनले थप प्रस्ट पार्दैं बताए ।
राजकुमार जुमा तीन दिने नेपाल भ्रमण आएका हुन् । शनिबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका राजकुमार जुमा श्री एयरलाइन्सको जहाज चार्टर्डमार्फत सीधै झापा पुगेका छन् । झापामा उनी मेची क्राउन होटलमा बसेका छन् ।