काठमाडौं । सयुक्त अरब इमिरेट्स (यूएई) का अधिराजकुमार जुमा अल मोक्तुम अहिले तीन दिने नेपाल भ्रमणमा छन् । शनिबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका राजकुमार जुमा अल मोक्तुम श्री एयरलाइन्सको जहाज चार्टर्डमार्फत सीधै झापा गए ।
राजकुमारको भ्रमण सरकारी हैन । नितान्त व्यवसायीक सम्बन्ध गास्नका लागि आएका हुन् । उनलाई मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाईंले व्यक्तिगत रुपमा नेपालमा आमन्त्रण गरेका हुन् ।
झापाको चन्द्रगडी विमानस्थलमा अवतरण गरेका राजकुमारको स्वागतका लागि पुगेका व्यवसायी प्रसाईंलाई सुनको लौरो समेत उपहार दिएका थिए । प्रसाईंले यूएईसँग सिधा व्यापार गर्ने तयारी गरिरहेको बेला राजकुमारलाई निजी खर्चमा भ्रमणमा ल्याएका हुन् ।
प्रसाईंले मेडिकल कलेजसँगै विभिन्न क्षेत्रमा लगानी विस्तार गरिरहेको बेला नेपालबाट यूएईमा खानेपानी र जडिबुटीको निर्यात गर्ने तयारीमा लागेका छन् । त्यसका लागि आईतबार दिउँसो दुई पक्षिय सम्झौता हुँदैछ ।
रसुवामा उत्पादन हुने पानी सिधै यूएईमा लैजाने गरि राजकुमार र प्रसाईंबीच सम्झौता हुनेछ । योसँगै हिमाली क्षेत्रमा रहेको जडिबुटीलाई प्रसोधन गरी यूएईमै निर्यात गर्ने गरि पनि सम्झौता गर्ने व्यवसायी प्रसाईंले जानकारी दिए ।
‘मैले लामो समयदेखि पानी र जडिबुटी निर्यातको तयारी गरेको थिए, जुन भोलि सार्थक पाउँदैछ, व्यवसायी प्रसाईंले भने, मेरो प्रस्तावलाई राजकुमार ज्यूले स्वीकार गरेर नेपालमा आउनु भएको छ ।‘ हिमालको काखमा उत्पादन भएको हिमालयको पानी यूएईमा लगेर विक्रि गर्दा विदेशी डलरसँगै रोजगारी समेत बढ्ने उनको दाबी छ ।
म जे गर्छु नेपालकै लागी गर्छु भन्ने अभियानलाई सफल बनाउनका लागि आइतबार हुने सम्झौताले ठूलो महत्व राख्ने उनले बताए ।
यूएईमा दैनिक १० लाख लिटर पानी निर्यातको तयारी भइरहेको छ । यदपी, कति लैजाने गरि सम्झौता हुन्छ भन्ने का साथ भन्न नसकिने प्रसाईंले बताए । कोभिडका कारण केहि समय ढिलाई भएको बताउँदै तयारी भने यस अघिदेखिनै गर्दै आएको जानकारी दिए ।
झापामा रहँदा राजकुमार जुमा अल मोक्तुमले पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्ने कार्यक्रम छ। आइतबारनै राजकुमार पोखरा आउने र त्यहाँबाट सगरमाथा क्षेत्रको भ्रमणमा जाने कार्यक्रम तय भएको छ ।
मेचीक्राउनको भीभीआईपी स्वीट्स रुममा राजकुमारको बसाई
राजकुमार जुमा अल मोक्तुमको लागी पाँच तारे होटल मेचिक्राउनको ४ वटा भिल्ला बुकिङ गरिएको छ । सो भिल्लामा एक वटा भीभीआईपी स्वीट्स रुम छ । जुन रुमको मूल्य सामान्यता १ लाख रुपैयाँ पर्छ । ती भिल्लामा तीन तीन वटा कोठाहरु रहेको छ । त्योसँगै एउटा क्लब समेत बुकिङ गरेका छन् ।