काठमाडौं । साझा यातायातका ३७ वटा विद्युतीय बस नेपाल ल्याउन अनिश्चित भएको छ । गएको चैत ३० गते नेपाल आइपुगेका ३ वटा विद्युतीय बसको प्राविधिक परीक्षणमा ढिलाई हुँदा बाँकी बस ल्याउने समय अनिश्चित बनेको हो ।
साझा यातायातका सञ्चालक भुषण तुलाधरका अनुसार नेपाल भित्रिएका ३ वटा बसको प्राविधिक परीक्षण सकिएको ४ महिनापछि बाँकी बस नेपाल आउँनेछन् । तर, नेपाल भित्रिएका बसको नै २ महिनासम्म परीक्षण नसकिदा अन्य बस ल्याउने समय लम्बिने भएको हो ।
नेपालमा साझाका ४० वटा विद्युतीय बस आउने छन् । जसमध्ये गत चैतमा नै ३ वटा बस परीक्षणको लागि ल्याइएको छ । चैतमा ३ वटा बस नेपाल भित्रिएपछि साझाले भदौसम्म बाँकी ३७ वटा बस ल्याउने जनाउँदै आएको थियो । तर, प्राविधिक परीक्षण लम्बिदै जादा बाँकी बस ल्याउने विषयमा साझाले जवाफ दिएको छैन ।
‘नेपाल भित्रिएका ३ वटा बस परीक्षण भइरहेको छ, अन्तिम चरणमा पुगेकाले केही दिनमा रिपोर्ट पनि आउला । बाँकी बस ल्याउन भने नेपालमा ल्याइएका बसको रिपोर्ट आएको ४ महिना लाग्छ’ तुलाधर भन्छन् । तर, परीक्षणको क्रममा रहेका बस सडकम गुड्ने समय तय हुन सकेको छैन ।
साझाका विद्युतीय बसको परीक्षण यातायात व्यवस्था कार्यालय एकान्तकुनाले गरिरहेको छ । सरकारी निकायको प्राविधिक टोलीले विद्युतीय बसको परीक्षण गरेको साझाले जनाएको छ ।
सम्झौता अनुसारका बस हुन कि होइनन् ?, यात्रु बोक्ने क्षमता, गुड्ने गतिलगायत परीक्षण हुने साझाले जनाएको छ । यातायात व्यवस्था कार्यालयले सडकमा गुडाउन स्वीकृति दिएपछि मात्रै साझाका विद्युतीय बस सञ्चालनमा आउने छन् ।
२०१८ मा स्थापना भएको साझा यातायातले हाल ७१ वटा ठूला यूरो ३ र ४ मानक डिजेल बसहरु सञ्चालन गदै आउको छ । विद्युतीय बसको प्रयोग बढाएर साझाले प्रदुषण मुक्त यातायात सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । जसअनुसार सन् २०८२ सम्म साझाका सम्पुर्ण बस सेवाहरूलाई विद्युतीय बस बनाउने बताइएको छ ।
साझा यातायातले चीनबाट ४० वटा विद्युतीय बस नेपालमा ल्याउने तयारी गरेको हो । जसमध्ये परीक्षणको लागि ३ वटा बस सुरुमा ल्याएको हो ।
साझाले विद्युतीय बस खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्रमार्फत चीनको सीएचटीसीसँग सम्झौता गरेको थियो । सम्झौतामा बससँगै आवश्यक चार्जरहरु खरिद गरी ५ वर्षसम्मको मर्मत सम्भारसमेत उसैले गर्ने उल्लेख छ ।
४० वटा विद्युतीय बस र तिनलाई आवश्यक पर्ने २० वटा चार्जिङ स्टेसनका लागि करिब ४४ करोड ८६ लाख २६ हजार रुपैयाँ र बस सञ्चालनका लागि आवश्यक तालिम तथा ५ वर्षको मर्मतसम्भार एवं स्पेयर पार्टस्का लागि ६ करोड ७३ लाख ६५ हजार ५५३ रुपैयाँ साझाले सीएचटीसीलाई बुझाउनु पर्र्ने हुन्छ ।
हाल नेपाल भित्रिएका ३ वटा विद्युतीय बस पनि ४४ करोड रुपैयाँ भित्रैबाटै खरिद गरिएको हो । नेपाल भित्रिएका उक्त बस २६ सिट क्षमतासहित अपाङ्गमैत्री रहेका छन् । सीएचटीसी कम्पनीले एकपटक फूलचार्ज गरेपछि ४२ भन्दा बढी यात्रु लिएर विद्युतीय बस २०० किलोमिटर गुड्ने जनाएको छ ।