काठमाडौं । बहुऔषधीय गुण भएको गानोडोर्मा (रातो) च्याउको व्यावसायिक उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण सुरु गरिएको छ ।
भैरब च्याउ उद्योग प्रालि तानसेन–८ जरेपिपल, पाल्पामा उत्पादन हुँदै आएको उक्त रातो च्याउको काठमाडौंबाट बालाजुस्थित गुराँस खाद्य उद्योग प्रालिले बिक्री वितरण सुरु गरेको हो ।
उक्त उद्योगले ‘पाल्पाली जाग्यो रहर, काठमाडौंलाई बनाउने रातो च्याउको सहर’ नारा तय गरेको छ । गानोडोर्मा (रातो) च्याउ एक लोकप्रिय औषधीय गुण भएको बहुउपयोगी च्याउ हो । यसको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । स्वास्थ्य र आयु प्रत्याशामा प्रवद्र्धन प्रभावको कारण यो च्याउ प्राय मानव चिकित्सामा प्रयोग गरिँदै आएको छ ।
यो च्याउलाई भैरव च्याउ उद्योगले आधुनिक ल्याबमा उत्पादन गरी बिक्री वितरणमा ल्याएको उद्योगका अध्यक्ष केशबबहादुर कार्कीले जानकारी दिएका छन् ।
अध्यक्ष कार्कीका अनुसार यो च्याउ नेपालको जंगलमा पनि पाइन्छ । यसको आकार पंखा जस्तै फैलिएको हुन्छ । यो च्याउ अरू च्याउ जस्तो नरम र मीठो हुँदैन । यो काठ जस्तो साह्रो हुन्छ र स्वाद पनि तीतो हुन्छ । त्यसैले यो च्याउ अन्य च्याउ जस्तै तरकारी बनाएर खान सकिन्न । सुकाएको रातो च्याउको टुक्राहरु पानीमा उमालेर रस चियाका रूपमा पिउन पर्ने हुन्छ ।
यसमा पोलीसचाराइडर, ट्रिटरपेनोइड, अर्गानिक जर्मनियम, एमिनो एसिड्स जस्ता औषधीय तत्व रहेका हुन्छन् । त्यसैगरी प्रोटिन भिटामिन्स्, मिनरल, माइक्रोनट्रियन्टस् इत्यादि पौष्टीक तत्वहरु पनि पाइन्छ । यी तत्वहरुले गर्दा हाम्रो शरीरमा रेसिस्टान्स बढाउँछ र रोग प्रतिरोधी क्षमता बलियो हुन्छ ।
त्यसकारण पनि यो च्याउ सेवन गर्नाले विभिन्न रोगहरु लागेका बिरामीहरुलाई पनि फाइदा हुने गर्छ । औषधीय र पौष्टीक तत्वले भरिपूर्ण भएका कारण पनि विश्वभर यो च्याउको प्रयोग बढ्दै गएको छ । यो च्याउ क्यान्सर र एचआईभी एड्स रोगीका लागि अति उत्तम मानिन्छ । यस रातो च्याउको महत्वपूर्ण तत्वहरुबाट नै यो सम्भव भएको हो ।
उक्त उद्योगले ल्याएको रातो च्याउको खुद्रा मूल्य प्रतिकिलो २० हजार रुपैयाँ पर्ने र होलसेलमा खरिद क्षमता हेरि १२ देखि १५ हजार रुपैयाँसम्म पर्ने अध्यक्ष कार्कीले जानकारी दिए ।
यो रातो च्याउ उत्पादक भैरब च्याउ उद्योगले पाँच वर्ष अघिदेखि सिताके च्याउ पनि व्यावसायिक उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । सिताके च्याउ मानव स्वास्थ्यका लागि निक्कै लाभदायक परिवर्तनहरु गर्न सकिने गुण भएको उद्योगले जानकारी दिएको छ ।