काठमाडौं । नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई अश्लील खालका गालिगलोज गरेको अडियो सार्वजनिक भएपछि पर्यटन मन्त्री प्रेमबहादुर आलेले उल्टै गम्भीर आरोपहरु लगाएका छन् । मन्त्री आलेको सचिवालयले जारी गरेको सूचनामा गम्भीर खालका आरोपहरु कार्यकारी अध्यक्ष अधिकारी माथि लगाएर आफू पन्छिन खोजेको देखिन्छ ।
स्वकीय सचिव हेमन्त रेग्मीले जारी गरेको विज्ञप्तिमा कार्यकारी अध्यक्ष अधिकारीको व्यक्तिगत चरित्रमाथी प्रश्न उठाउदै अरु नै विभागमा काम गर्ने कनिष्ठ महिला कर्मचारीहरुलाई एकपटक मात्र हैन,थुप्रैपटक कार्यकक्षमा बोलाई सँगै खाजा खाने,घण्टौं कार्यकक्ष भित्रै बसाइराख्ने,सेवाग्राहीलाई कार्यकक्ष बाहिर घण्टौं कुराउने गुनासोहरु आएकोमा सचेत गराएको उल्लेख छ ।
यस्तै न्यारोबडी जहाजको इन्जिन मर्मतमा ढिलाइ गरेको,निजी वायुसेवालाई टुइनअटर चार्टदिने गरेको,टर्कीको एक कम्पनीलाई पीएसएस प्रणालीको ठेक्का अपारदर्शी ढंगले सुम्निे लगाएतको गम्भीर कमीकमजोरी भएपछि २०७९ बैंशाख ९ गते तीन दिने स्पष्टीकरण सोधिएको जनाएको छ ।
चित्त बुझ्दो स्पष्टीकरण प्राप्त नभएपछी जेठ २५ गते अर्को व्यवस्था नभएसम्मका लागि निलम्बन गर्ने निर्णय मन्त्रिपरिषदमा प्रस्ताव दर्ता भइसकेको र निर्णय भने भइनसकेको जनाएको छ ।
यसैबिच मन्त्री आलेले संसदमा हेलिकप्टरमा दुई वटा पाइलट राख्ने प्रस्ताव,पुराना जहाज खरिद गरेर नेपालमा ल्याउने उमेर हद घटाउन गरेको प्रस्ताव,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने उडान अवतरणलाई अवरोध पुर्याउने खालका अग्ला भवन बारे पाइलटहरुको उडान सुरक्षाबारे गुनासो आएपछी कोटेश्वर,गैरीगाउँ,सिनामंगल परिसरमा बनाइएका केही भवनमा उचाई घटाउन गरिएको निर्णयले प्रभावित हुने भएपछि एउटा गिरोह पछिल्ला दिन निरन्तर मन्त्रीज्यूका विरुद्ध मन्त्रालय मातहतकै निकायको केही व्यक्तिहरुलाई परिचालन गर्दै लागिपरेको आरोप विज्ञप्तिमा लगाइएको छ ।